कानपुर (एजेन्सी)– कप्तान विराट कोहली र प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको सतकको सहयोगले भारतले तेस्रो तथा निर्णायक एकदिवसीयमा भ्रमणकारी न्युजिल्यान्डलाई ३ सय ३८ रनको विशाल लक्ष्य दिएको छ।
कानपुरमा आइतबार जारी खेलमा पहिलो ब्याटिङ गरेको भारतले कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रनको सहयोगले ६ विकेटको क्षतिमा ३ सय ३७ रन बनायो।
यी दुबैले दोस्रो विकेटका लागि २ सयभन्दा बढी रनको साझेदारी गरे। उनीहरुको एकदिवसीयमा यो चौथो मौका थियो। कोहलीले ३२ औं सतक पुरा गरे। रोहितको पनि एकदिवसीयमा १५ औं सतक थियो। उनले १ सय ३८ बलमा २ छक्का र १८ चौकाको सहयोगले सतक बनाएका थिए। उनको न्युजिल्यान्ड विरुद्ध पहिलो सतक थियो।
कोहलीको भने न्युजिल्यान्ड विरुद्ध पाँचौ सतक हो। उनले यो वर्ष मात्र आफ्नो छैटौं सतक पुरा गरेका छन्। कप्तानको भूमिकामा उनको दसौं सतक पनि हो।
न्युजिल्यान्डले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो। महेन्द्रसिंह धोनीले २५ रन बनाए। केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए। टिम साउथी र मिल्नेले २–२ विकेट बाँडेका थिए। तर, दुबै आज महंगो सावित भए। सान्टनेरले पनि २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।