काठमाडौं- बुध्द एयरले भारतको कोलकाता उडानको तालिका परिमार्जन गरेको छ। यसअघि आगामी बैसाख २ गतेबाट उडान गर्ने तयारी थालेको एयरले जेठ १३ देखि मात्रै गर्ने उडान भर्नेछ।
भारतमा आगामी अप्रिल ११ देखि लोकसभा निर्वाचन हुने भएकाले उडान तालिका परिवर्तन गरिएको बुद्ध एयर मिडिया पर्सन प्रमोद पोखरेलले बताए।
कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ। निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ। उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने जनाइएको छ।
भारतीय यात्रुहरुको लागि एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्ने जनाइएको छ।
बुध्द एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सञ्चालनमा छन्। थप अर्को एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।