काठमाडौं- तामाङ न्हाङखोरको प्रथम वार्षिकीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानसँगको सहकार्यमा आयोजित दुईदिने तामाङ अध्ययन गोष्ठी-२०७५ काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानमा सोमबार र मंगलबार चलेको गोष्ठीमा २ वटा विमर्श कार्यक्रम र २१ वटा सेमिनार कार्यपत्र प्रस्तुत गरिएको थियो।
विमर्शमा तामाङ लोकगीत 'फापरे व्हाइ' र 'तामाङ वंशावली' बारे मुख्य बहस चलेको थियो। मूलतः भाषा, साहित्य, शिक्षा, सञ्चार, खानपिन, प्रविधि, इतिहास, अर्थव्यवस्था, संस्मरण, महिला, विकास आदि विषयलाई कार्यपत्रमा समेटिएको थियो।
नेपालका साथै भारतका कोलकता, दार्जिलिङ र सिक्किमबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो।
सोही अवसरमा तामाङ भाषा र साहित्यको प्रवर्द्धनमा एक सयभन्दा धेरै अंक प्रकाशन र साहित्यिक कार्यक्रम सञ्चालन गर्ने संस्थालाई १० हजार नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरियो।
सम्मेलनमा सहभागीहरूले ५ बुँदे प्रतिबद्धता जाहेर गरेका छन्-
(१) प्रति वर्ष यसै महिना र यसै दिनमा तामाङ अध्ययन विषयमा गोष्ठी आयोजना गर्ने र सहभागी हुने।
(२) तामाङ अध्ययनका विषयमा निरन्तर अध्ययन, छलफल र अभिलेखन गर्ने।
(३) तामाङ ज्ञान-विज्ञान र प्रविधिलाई विशेष अनुसन्धान गरेर निरन्तर अभिलेखन र अध्ययन विश्लेषण गर्ने।
(४) तामाङ अध्ययनलाई निरन्तर अभिवृद्धि गरी विभिन्न माध्यमबाट विश्वभरि नै प्रचार-प्रसार गर्ने।
(५) तामाङ विषयका लेखक, अनुसन्धताहरूलाई आ-आफ्ना सामग्री उपलब्ध गराउन अनुरोध गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।