दमौली- नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत बक्यौता नबुझाउने ६ सय १६ ग्राहकको लाइन काटेको छ। केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को फागुन अन्तिम सातासम्म विद्युत महशुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटेको हो।
६० दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए। उनका अनुसार लाइन काटेर कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन्।
वितरण केन्द्रले चालू आर्थिक वर्षमा ६ सय १६ ग्राहकको लाइन काटेकामा ५ सय ३ ग्राहकले विद्युत महशुल बक्यौता तिरेको गोशलीले जानकारी दिए। ती ग्राहकबाट १ करोड ६३ हजार ८ सय ६१ रुपैयाँ बक्यौता असुल भएको छ। बक्यौता रकम बुझाएपछि ग्राहकको लाइन पुनः जोडिएको केन्द्रले जनाएको छ।
'विद्युत महशुल सङ्कलन विनियमावली, २०७३' को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको ७ दिनभित्र महशुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिइन्छ भने आठाैं दिनदेखि २२औँ दिनभित्र महशुल बुझाएमा बिलअनुसारको महशुल लाग्नेछ।
त्यस्तै मिटर रिडिङ गरेको २३औं दिनदेखि ३०औं दिनसम्म विद्युत महशुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्नेछ। विनियमावलीमा उल्लेख भएअनुसार मिटर रिडिङ गरेको ३१औं दिनदेखि ४०औं दिनसम्म विद्युत महशुल नबुझाएमा १० प्रतिशत थप दस्तुर लाग्छ भने ४१औं दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर लाग्नेछ।
विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६०औं दिनसम्म पनि विद्युत महशुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काट्न सक्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए।
अस्पतालले तिर्यो बाँकी बक्यौता
विद्युत उपयोग गरेवापत सबैभन्दा बढी बक्यौता रहेको दमौली अस्पतालले समेत बाँकी बक्यौता तिरेको छ। केन्द्रले पटक–पटक विद्युत महशुल तिर्न अस्पताललाई ताकेता गरेपछि अस्पतालले ३४ लाख ५६ हजार ४ सय ३५ रुपैयाँ तिरेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार अस्पतालले पुस महिनामा १५ लाख ७२ हजार ४ सय ३५ र फागुनमा दुई किस्तामा ४ लाख ३६ हजार ९ सय ३५ र १४ लाख ५७ हजार ६५ रुपैयाँ चुक्ता गरेको छ। उक्त रकम तिरेपछि अस्पतालको नाममा कुनै बाँकी बक्यौता नरहेको केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।