काठमाडौं- सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। विप्लव समूह 'आपराधिक संगठन' भएको ठहर गर्दै उसका आपराधिक गतिविधि प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको हो।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका आपराधिक क्रियाकलापमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
विप्लव समूहले आपराधिक गतिविधि सञ्चालन गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराएको र शान्ति सुरक्षामा चुनौती थपेकाले उसका गतिविधिमाथि प्रतिबन्ध लगाइएकाे मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले नेपाल लाइभलाई बताए।
‘चन्दा मागेर, मान्छे मारेर पनि राजनीति हुन्छ? त्यो विप्लव समूहलाई बन्देज लगाउने निर्णय गरौं’, मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उधृत गर्दै उनले भने, ‘यसरी हुँदैन। हामीले आवश्यक कारबाही गर्नुपर्छ। त्यो त अपराधी समूह हो।’
विप्लव माओवादीलाई कडाइ गर्ने र प्रशासनिक रूपमा कारबाही अगाडि बढाउने निर्णय मन्त्रिपरिषदले गरेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले विप्लव समूह 'आपराधिक समूह' भएकाले उसलाई राजनीतिक रूपमा नलिन मन्त्रीहरुलाई सल्लाह समेत दिएका थिए।
पटक-पटक वार्ताका लागि पहल हुँदा पनि सकारात्मक नभएपछि विप्लव समूहप्रति सरकार कठोर रुपमा प्रस्तुत भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान भेटघाट भएको थियो। छलफल पछि प्रचण्ड विराटनगर पुगेर मन्त्रीमण्डल हेरफेरको कुरा गरेका थिए। तर, यो विषयमा कुनै पनि सूचना बाहिरिएको थिएन।
दुई अध्यक्षकाे भेटका क्रममा गृहमन्त्री रामबहादुर थापा 'बादल' समेत साथमै रहेकाे बुझिएकाे छ। ती मन्त्रीका अनुसार विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने प्रस्ताव नै बादलकाे थियाे।
विप्लवका गतिविधि नियन्त्रण गर्ने विषयमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको समर्थन खोजेको देखिएको छ। तर, पार्टीभित्र भने यस सम्बन्धमा कुनै पनि छलफल नभएकाे बुझिएकाे छ।
'नेकपा पार्टीभित्रमा यस विषयमा कुनै छलफल भएको थिएन,' नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पोडेलले नेपाल लाइभसँग भने, 'यसको राजनीतिक हल गरिनुपर्दथ्यो। त्यो प्रयास भएन।'
सरकारको निर्णयका विषयमा पार्टीमा कुनै छलफल नै नगरी विप्लव समूहमाथि प्रतिबन्ध गरेको भन्दै नेकपाकै नेताले विरोध जनाएका छन्।
सरकारले आफूहरुमाथि प्रतिबन्ध लगाए त्यसको प्रतिवाद गर्ने विप्लव समूहले प्रतिक्रिया दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।