काठमाडौं– 'बाँच्नुनै जीवनको ठूलो उत्सव रहेछ,' मृत्युको मुखबाट फर्किएका ८ जनाको अनुहारले आज याे कुरा प्रस्ट्याउँथ्यो।
उनीहरू थिए– केशव पाण्डे, सनम शाक्य, दयाराम ताम्राकार, आशिष रन्जित, विनोदराज पौडेल, वसन्त बोहोरा, हरिप्रसाद सुवेदी र किशोर त्रिपाठी। नयाँ जीवन पाएको १ वर्षपछि काठमाडौंको ठमेलमा उनीहरू सँगै देखिएका थिए।
गतसाल आजैको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६७ यात्रु र चालक दलका चार सदस्य सवार युएस–बंगला एयरलाइन्सको विमान अवतरणको क्रममा दुर्घटना भएको थियो।
५१ जनाको ज्यान गएको उक्त दुर्घटनाबाट २० जना बाँच्न सफल भएका थिए।
बाँचेका २० मध्ये काठमाडौंको ठमेलमा पुन:जन्मको उत्सब मनाउने ८ अनुहार थिए ति। यस्तै दुर्घटनामा बाँचेका अर्का दिनेश हुमागाईं भने त्यहाँ उपस्थित थिएनन्।
ट्राभल एजेन्सीमा आबद्ध उनीहरूको टोली एक वर्षअघि बंगालादेशको राजधानी ढाकामा भएको पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिएर फर्कने क्रममा विमान दुर्घटना भएको थियो।
यो दिन उनीहरू मात्र नभई आफन्त, साथीभाइ तथा शुभचिन्तकको लागि खुसीको दिन हो। उनीहरूलाई मोबाइल, भेटघाट तथा सामाजिक सञ्जालमार्फत बिहानैदेखि बधाईका ओइरो लागेका छन्।
ढाकामा रहेको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको बमबार्डियर डाश एच क्यु ४०० विमान अवतरणको क्रममा दुर्घटना भएको थियो। दुरघटनाबाट उनीहरू संयोगले बाँचेका थिए।
यसरी बाँचेकाहरू जीवनको उत्सव मनाउँदै भन्छन्– अब अरुको लागि केही राम्रा काम गर्नेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।