काठमाडौं– गाडी नै लिएर चोर्न हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप सुनापाती–५ घर भएका ४१ वर्षीय ओमराज श्रेष्ठ, काठमाडौं पुरानो बानेश्वर डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय पारस प्रसाद र ३२ वर्षीय सन्तोष पोद्दार छन्। उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका–४ धुम्बाराहीस्थित कर्णबहादुर चौलागाईको हार्डवेयर पसलबाट अपरिचित व्यक्तिहरुले फागुन २१ गते मंगलबार विभिन्न सामानहरु चोरी गरेका थिए। अनुसन्धानबाट बा १ ज २१९२ नम्बरको ट्याक्सी चोरीमा संलग्न भएको खुल्न आएपछि ट्याक्सी चालक ओमराज श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो।
श्रेष्ठलाई सोधपुछ गर्ने क्रममा उनको बयान अनुसार काठमाडौं महानगरपालिका–३१ डेरा गरी बस्ने पारस प्रसाद र सन्तोष पोद्दारलाई चोरी गरी लुकाइछिपाई राखेका विभिन्न सामानसहित फेला पारिएको हो।

उनीहरुको डेराबाट बाथरुम तथा धारामा प्रयोग गरिने विभिन्न सामानहरु ३८ बोरा, चाँदीका विभिन्न किसिमका भाडाकुँडा ९ किलो ५ सय ग्राम र नगद ७० हजार रुपैयाँ तथा सामान ओसारपसार गर्न प्रयोग भएको बा १४ च ७२६९ नम्बरको भ्यानसमेत प्रहरीले बरामद गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।