काठमाडौं- सरकारले यसवर्ष करीब ४ हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष ३ हजार ६ सय ६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गरिने इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए।
उनले ३ महिने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने दाबी गरे। ३ सय ९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाना पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन्।
तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो। तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ।
काठमाडाैं उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमा विपन्न भएकाले सहभागी हुन सक्नेछन्।
तीन महीनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर ६ महिना रोजगारीमा जानु पर्नेछ। यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारीमा लगाउने दायित्व रहेको उनले बताए। भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालनमा आउनेछ। छोटो अवधिको तालीमको लागि इभेन्टले १८ हजार २ सय, २० हजार २ सय र २२ हजार २ सय उपलब्ध गराउँदै आएको छ।
इभेन्टले यसवर्ष करीब १७ हजार बेरोजगार युवालाई रोजगार बनाउन छोटो अवधिको तालीम सञ्चालन गरेको छ। तालीमले मुलुकमा देखिएको बेरोजगारको समस्यालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने शाखा अधिकृत पौडेलले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।