काठमाडौं- विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म ४ हजार १ सय ९० विद्यालय पुनर्निर्माण भएका छन्। पुनर्निर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ३ हजार ३ सय ६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७ सय ५८ विद्यालय निर्माण भएका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा)का वरिष्ठ इञ्जिनीयर उद्धव नेपालले विद्यालय व्यवस्थापन समितिमार्फत १ हजार ४ सय ३७, निर्माण व्यवसायीमार्फत ३ सय १४ र गैरसरकारी क्षेत्रबाट २ सय ९२ विद्यालय गरी कूल २ हजार ४३ विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परियोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित छलफल कार्यक्रममा नेपालले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काठमाडौं र भक्तपुरमा एसियाली विकास बैंक (एडिबी), अमेरिकी सहयोग संस्था युएसएड र नेपाल सरकारको ९.६ अर्ब रुपैयाँ बजेटमा १ सय ५४ विद्यालय निर्माण गर्ने लक्ष्य रहेकामा ४१ विद्यालय निर्माण सम्पन्न भएका र १ सय १३ विद्यालय अझै निर्माण हुन बाँकी रहेको जानकारी दिए।
जापान सरकार र नेपाल सरकारको (१२ प्रतिशत)को बजेटमा दोलखा, रामेछाप, गोरखा, धादिङ, ललितपुर, नुवाकोट, रसुवा र मकवानपुरमा सबै विद्यालयको ६६ प्रतिशत काम सम्पन्न भएको छ।
परियोजना कार्यान्वयन एकाइ काभ्रे कार्यालयका वरिष्ठ अधिकारी निर्मल घिमेरेले आपत्कालीन विद्यालय पुनर्निर्माण आयोजनाअन्तर्गत ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरका २ सय ३६ विद्यालय नेपाल सरकार र जापानी सहयोग संस्था जाइकाको ऋण सहयोग गरी १४ अर्ब रुपैयाँ लागतमा र नेपाल सरकारको बजेट स्रोतमा सञ्चालन गर्दै आएकामा हालसम्म ४१ प्रतिशत विद्यालय निर्माण भएको जानकारी दिए।
घिमिरेले काभ्रे जिल्लाकोे कूल विद्यालय सङ्ख्या ६ सय ९० रहेको, त्यसमध्ये सामुदायिक विद्यालय ५ सय ८७ र संस्थागत विद्यालय १ सय ३ रहेको जानकारी दिँदै विनाशकारी भूकम्पले अधिकांश सामुदायिक विद्यालयका भवन पूर्ण क्षति भएको बताए।
काभ्रे जिल्लामा कक्षाकोठा सङ्ख्या ५ हजार २ सय १० रहेकामा पूर्णक्षति कक्षाकोठा सङ्ख्या ९ सय ५४, अधिकक्षति कक्षाकोठा सङ्ख्या ९ सय १४, सामान्य क्षति कक्षाकोठा सङ्ख्या १ हजार ४ सय ८३ र क्षति नभएको कक्षाकोठा १ हजार ८ सय ५९ भएको जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।