वासिङ्टन (एजेन्सी)– अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पुनः वकालत पेसामा फर्किने भएका छन्। केही समयपछि नै उनलाई इलिनोइस राज्यमा नागरिक अधिकारका लागि मुद्दा लडिरहेको अवस्थामा देखिने स्थानीय अदालतका पदाधिकारीले बताएका छन्।
सबै तथ्य सार्वजनिक नभए पनि उनी कुक काउन्टीमा आउँदो महिनादेखि बहसमा उत्रिने जनाइएको छ। ५६ वर्षीय ओबामाको घर वासिङ्टन र सिकागो दुवै ठाउँमा छ र उनले नागरिक र अपराधसम्बन्धी मुद्दामा बहस गर्ने बताइएको छ।
पूर्वराष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यु बुस पनि ह्वाइट हाउसबाट बाहिरिएपछि अदालतमा बहसका लागि फर्किएका थिए।
ओबामाले हार्वर्ड विश्वविद्यालयबाट कानुनी शिक्षा पूरा गरेका थिए। अमेरिकी सिनेटमा आबद्ध हुनुअघि उनले सिकागो विश्वविद्यालयमा कानुन विषयमा १२ वर्ष अध्यापन गराएका थिए। उनी नागरिक अधिकारको वकालत पनि गर्थे। ‘उनले पहिले नै मलाई स्पष्ट पारिसकेका थिए, नागरिकप्रतिको उनको उत्तरदायित्व र स्थानीयवासी हुनुको कारण,’ कुक काउन्टीका मुख्य न्यायाधीश टिमोथी इभन्सले सिकागो ट्रिब्युनसँग भनेका छन्।
इभन्सले पूर्वराष्ट्रपति भएका कारण ओबामाको सुरक्षा प्रमुख कारण बन्न सक्ने बताए। तर, ओबामाका प्रवक्तालाई यस विषयमा प्रतिक्रिया दिएका छैनन्। ओबामा वकालतमा फर्किएको खण्डमा उनलाई काउन्टीले प्रत्येक दिनको पारिश्रमिकबापत १७ दशमलव २५ डलर उपलब्ध गराउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।