एजेन्सी– पाकिस्तान क्रिकेट बोर्ड (पिसिबीले) भारतीय क्रिकेट टिमको विरोधमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पत्रचार गरेको छ।
गत शुक्रबार भारतीय क्रिकेट टिमले अस्ट्रेलियाविरुद्धको एकदिवसीय खेलमा 'सैनिक क्याप' लगाएपछि पाकिस्तानले विरोध जनाएको हो। भारतले खेलमाथि राजनीति गर्न खोजेको पाकिस्तानले आरोप लगाएको छ।
यद्यपी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले राँचीमा भएको खेलअघि आइसिसीसँग सैनिस क्याप लगाउन अनुमति मागेको थियो। आइसिसीले च्यारिटीका लागि क्याप लगाउनु अनुमति दिएको पुष्टि भएको छ। आइसिसीका प्रवक्ताले च्यारिटीका लागि क्याप लगाउनु अनुति दिएको बताएका हुन्।
तर पिसिबीका अध्यक्ष इसान मनिले क्याप लगाएको विरोधमा आइसिसीलाई पत्रचार गरेको बताउँदै भारतले क्रिकेटमा राजनीति घुसाएको आरोप लगाएका छन्। उनले भारतको क्रिकेटप्रतिको विश्वास गुमाएको पनि बताएका छन्।
यसअघि राँचीमा भएको खेलमा भारतीय क्रिकेट कान्ट्रोल बोर्ड (बिसिसिआई) ले नियमित निलो क्यापको सट्टा सैनिक क्याप लगाएर गत महिना कास्मिरमा मारिएका सैनिकप्रति सम्मान दर्शाएको बताएको थियो। खेलमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीदले खेलाडीहरुलाई क्याप हस्तान्तरण गरेका थिए। धोनी भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट करनेल हुन्।
भारतीय टिमका कप्तान विराट कोहलीले क्याप विशेष भएको भन्दै सहिद र उनीहरुको परिवारका लागि सम्मान दिन क्याप लगाएको बताएका थिए। उनले सबै खेलाडीले खेलको म्याच फि चन्दा दिने पनि बताएका थिए।
भारत र पाकिस्तानवीच द्वन्द्व चर्किदै जादा त्यसको असर खेलमा पनि परिरहेको छ। यसअघि भारतले पाकिस्तानका दुई जना सुटिङ खेलाडीलाई भिसा दिन अस्विकार गरेको थियो। लगत्तै बिसिसिआईले आगामी एकदिवसीय विश्वकपमा पाकिस्तानको खेल बाहिस्कार गर्नु पर्ने भन्दै आइसिसीलाई पत्राचार गरेको थियो। तर आइसिसीले बिसिसिआईको प्रस्ताव अस्विकार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।