म्याड्रिड– जिनेदिन जिदान स्पेनिस महारथी क्लब रियल म्याड्रिडको प्रशिक्षकमा १० महिनापछि फर्किएका छन्।
अघिल्लो सिजनको अन्त्यमा रियल छाड्ने निर्णय गरेका जिदानलाई रियलले सान्टियागो सोलारीलाई बर्खास्त गरेर नियुक्त गरेका हुन्। सोलारीले क्लबमा ५ महिना भन्दा सयम बिताए।
४६ वर्षीय फ्रेन्च नागरिक जिदानले गत मेमा क्लब छाड्ने निर्णय गरेका थिए। रियललाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताएका जिदानले सन् २०२२ सम्मका लागि सम्झौता गरेका छन्।
जारी सिजनमा खराब प्रदर्शन गरिरहेको रियल ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछि छ। यस्तै रियल च्याम्पियन्स लिगबाट पनि बाहिरिसकेको छ भने कोपा रेड रेमा पनि सेमिफाइनलमा बार्सिलोनासँग हारेको थियो।
रियलमा फर्किएका जिदानका लागि अब उत्कृष्ट टिम बनाउनु पर्ने चुनौती छ। पूर्व स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थान परिपूर्ति गर्नु छ। कप्तान सर्जियो रामोसले १४ वर्षपछि रियल छाड्ने गसिप सार्वजनिक भइरहेका छन्। यस्तै गारेथ बेलले पनि फ्यानसँगको नराम्रो सम्बन्धका कारण रियल छाड्न चाहिरहेका छन्।
रियलमा जिदानको उपलब्धि
खेलाडीको रुपमा – ला लिगा, स्पेनिस सुपर कप (दुई पटक), च्याम्पियन्स लिग, युइएफए सुपर कप, इन्टरकन्टिनेल्टल कप
प्रशिक्षकको रुपमा– ला लिगा, स्पेनिस सुपर कप, च्याम्पियन्स लिग (तीन पटक), युइएफए सुपर कप (दुई पटक), क्लब विश्वकप (दुई पटक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।