काठमाडौं– त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि जितेको छ। सोमबार भएको फाइनलमा आर्मीले आयोजक टिम झापा–११ लाई ५–३ ले हराउँदै सिजनको तेस्रो उपाधि जितेको हो।
यसअघि आर्मीले विरगन्ज गोल्डकप र इटहरी गोल्डकपको उपाधि जितेको हो।
खेलको २३ मिनेटमा सन्तोस तामाङले गोल गरेर आर्मीलाई पहिले अग्रता दिलाए। ३३ मिनेटमा नवयुग श्रेष्ठको पासमा कप्तान भरत खवासले गोल गरेर आर्मीको अग्रता दोब्बर पारे। पहिलो हाफ सकिन ३ मिनेट बाँकी छदा झापाले गोल फर्कायो।उसका लागि फ्रान्सिसले गोल गरे।
५३ मिनेटमा झापाका योगेश गुरुङले अर्को गोल गरेपछि खेल २–२ को बराबरीमा आयो। ७५ मिनेटमा आर्मीले फेरि अग्रता लियो। नवयुगले आर्मीका लागि तेस्रो गोल गरेका थिए। ८३ मिनेटमा नवयुगले व्यक्तिग दोस्रो गोल गर्दा आर्मी ४–२ ले अघि बढ्यो।
इन्जुरी टाइमको तेस्रो मिनेटमा आर्मीका टेकबाहादुर बुढाथोकीले पाँचौ गोल गरेका थिए। लगत्तै झापाका भिक्टरले टिमका लागि तेस्रो गोल गरेपनि उसलाई खेलमा फर्कन ढिला भइसकेको थियो।
उपाधिसँगै आर्मीले १२ लाख ५० हजार रुपैयाँ पाउदा झापाले ६ लाख ५ हजारमै चित्त बुझायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।