काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा बलर सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्डर्स प्लेअफमा पुग्न असफल भएको छ। समूह चरणको अन्तिम खेलमा मुल्तान सुल्तानसँग ७ विकेटले पराजित भएसँगै लाहोर बाहिरिएको हो।
पाकिस्तानको कराँचीमा भएको खेलमा पहिले ब्याटिङ गरेको लाहोरले ८ विकेटको क्षतिमा १ सय ४० रन जोडेको थियो। उसका लागि कप्तान फखर जमानले ५३ रन जोडे। डेभिड विसेले ३० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा सुल्तानका मोमहद अब्बासले ३ विकेट लिए।
१ सय ४१ रनको लक्ष्य सुल्तानले १२.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो। उसका लागि साह मसुदले २५ बलमा ८ चौका र १ छक्का हिर्काएर ४८ रनको योगदा नगरे। जिएम भिन्सले १२ बलमा २५ रन जोड्दा जोनसन चार्ल्सले नटआउट ४१ रन बटुले।
बलिङमा लाहोरका सहीन अफ्रिदी र विसेले १–१ विकेट लिए। नेपाली बलर सन्दीपले विकेट लिन सकेनन्। उनले २.३ ओभरमा २८ रन खर्चिए। उनले समान २–२ चौका र छक्का दिएका थिए भने ५ बलमा डट फ्याँकेका थिए।
योसँगै अंक तालिकाको पुछारमा झरेको लाहोरले १० खेलमा ३ खेलमा जित हात पार्दा ७ हार बेहोर्यो।
सन्दीपले पिएसएलका ७ खेल खेल्दा ११ विकेट लिए। उनले पाँच खेलमा विकेट लिँदा २ खेलमा भने विकेट लिन सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।