काठमाडौं– शुक्रबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवास लाजिम्पाटमा वाम गठबन्धनबारे बुझ्न पुगेका थिए, एक युरोपेली राजदूत । उनले अपेक्षित प्रश्न नगर्दै प्रचण्डले भने, ‘एमालेसँगको सहकार्य चुनावसम्मका लागि मात्र हो, पार्टी एकता हुँदैन।’
आगामी केही वर्ष प्रधानमन्त्रीका रुपमा मुलुकको बागडोर सम्हाल्ने महत्वाकांक्षाले घेरिएर वाम गठबन्धन गर्न अग्रसर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको दाउपेच हेक्कै पाएनन् । पार्टी एकता गर्ने सर्तमा उनले कमजोर अवस्थामा रहेको माओवादीलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४० प्रतिशतको हिस्सेदारी दिन सहजै सहमत भए।
बृहत् वाम गठबन्धन निर्माण गर्ने क्रममा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसँगै प्रचण्डले पनि ओलीलाई भनेका थिए, ‘हामी सबै सूर्य चिह्नमै चुनाव लड्ने हो ।’ एमाले अध्यक्ष ओलीलाई लाग्यो– एउटै चुनाव चिह्नमा चुनाव लड्ने भएपछि पार्टी एकता निश्चित हुन्छ । किनकि, विभाजनमा जाने अवस्थामा त प्रचण्डले ४० प्रतिशत जुटाउनुपर्छ । जुन माओवादीको हकमा सम्भव छैन।
ओलीका एक निकट सहयोगीले दिएको जानकारी अनुसार प्रचण्डले एउटा अचम्मलाग्दो किस्सा पनि जोडेका थिए । ‘एमालेको यत्रो एनजीओ/आइएनजीओको नेटवर्क छ । मैले युद्धलाई शान्ति प्रक्रियामा ल्याए । वाम एकता सम्भव तुल्याए । एमाले पंक्तिको सहयोगले मैले नोबेल शान्ति पुरस्कार पनि पाउन सक्छु । म यत्तिकै यो गठबन्धनका लागि तयार भएको होइन’, प्रचण्डले ओलीसँग भनेका थिए।
प्रचण्डको महत्वाकांक्षा र यतिविधि प्रतिबद्धता पाएपछि ओली पनि हौसिए । उनले सहजै भनिदिए, ‘ल सूर्य चिह्नमा संयुक्त रुपमा चुनाव लडौं । बिस्तारै पार्टी एकता पनि गरौं । म प्रधानमन्त्री हुँदा तपाईं पार्टी अध्यक्ष, तपाईं प्रधानमन्त्री हुँदा म पार्टी अध्यक्ष।’
शंका बढाउने अर्को कुरा के पनि हो भने, माओवादी सरकारमै रहिरहनु । वाम गठबन्धन घोषणा लगत्तै ओलीले प्रचण्डलाई भनेका थिए, ‘अब सरकारबाट फिर्ता आउनुहोस् ।’ तर, देउवाले माओवादीका ९ मन्त्री र ८ राज्यमन्त्रीलाई विनाविभागीय बनाइदिँदा समेत माओवादीले सरकार छाडेको छैन।
यो वार्ताको पर्सिपल्टै प्रचण्डको एउटा कुराले ओली तर्सिए । प्रचण्डले भने, ‘मैले साथीहरुलाई मनाउन सकिनँ, चुनाव चिह्न चाहिँ आ–आफ्नै लिएर जानुपर्ने भयो ।’ त्यसपछि भने ओलीले प्रचण्डमाथि शंकाको सुविधा लिन थाले । पछिल्लो समय ६०/४० को भागबन्डा मिलाउने क्रममा माओवादी केन्द्रको मोलमोलाइ जुन रुपमा भएको छ, त्यसले ओलीलाई अझ बढी शशंकित बनाएको छ।
ओली सबैभन्दा निकटमध्ये मानिन्छन्, नेता शंकर पोखरेल । तर, उनले वाम गठबन्धनकै कारण प्रतिनिधिसभातर्फ आकांक्षा गरेको दाङ–२ बाट चुनाव लड्न पाएनन् । त्यहाँबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभामा भिड्ने भएका छन् । वाम गठबन्धन निर्माणमा सबैभन्दा सक्रिय नयाँशक्ति संयोजक बाबुराम भट्टराईलाई गोर्खाबाट लखेट्ने माओवादी योजनाका कारण पनि ओली प्रचण्डसँग सतर्क बन्दै गएका छन् । भट्टराई अन्ततः कांग्रेस गठबन्धनको कित्तामा पुगेका छन्।
शंका बढाउने अर्को कुरा के पनि हो भने, माओवादी सरकारमै रहिरहनु । वाम गठबन्धन घोषणा लगत्तै ओलीले प्रचण्डलाई भनेका थिए, ‘अब सरकारबाट फिर्ता आउनुहोस् ।’ तर, प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका ९ मन्त्री र ८ राज्यमन्त्रीलाई विनाविभागीय बनाइदिँदा समेत माओवादीले सरकार छाडेको छैन।
प्रधानमन्त्री देउवाले चुनाव सार्ने षड्यन्त्र गरेको बहानामा माओवादी मन्त्रीहरु जिम्वारीविहीन रुपमा सरकारमै छन् । बहाना जे बनाए पनि माओवादीले सरकार नछाड्नुको प्रमुख कारण के हो भने, एमालेसँग सिट बाँडफाँट नटुंग्याउन्जेल कांग्रेससँगको अनौपचारिक सम्बन्ध तोड्न माओवादी केन्द्र तयार थिएन । ताकि, एमालेसँग कुरा नमिले पुनः कांग्रेससँगकै सहकार्य जारी राख्न सकियोस् । यद्यपि यतिखेर कांग्रेस सहकार्य निरन्तरताको पक्षमा छैन।
यतिखेर माओवादीका कारण सिट बाँडफाँट पेचिलो बन्दै गर्दा ओली ऊसँगको संवादप्रति उदासीन छन् । चिनियाँ चासोमा वाम गठबन्धन निर्माणका सूत्रधार वामदेव गौतमको घर भैंसेपाटीमा ओलीबाहेकका नेतासहित तीन दिनदेखि एमाले–माओवादी वार्ता चलिरहेको छ । आफ्नो अग्रसरतामा निर्माण भएको वाम गठबन्धन जोगाउन पनि गौतम यतिखेर क्रियाशील बनेका छन्।
सहजै हेर्दा पनि करिब ४ हजार केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रसँग एमालेको एकता सम्भव देखिँदैन । तर, दुवै पार्टीका शीर्ष तहका केही नेताको तत्कालिक स्वार्थ पूरा गर्न यो गठबन्धन निर्माण भयो । कहिलेसम्म जाला त यो गठबन्धन ? प्रचण्डले ती युरोपेली राजदूतलाई भनेझैं सहजै भन्न सकिन्छ – चुनावी नतिजाले यी दुई दलको सहकार्यको आयु तय गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।