धेरै वर्षपछि केही हप्ताअघि मात्रै सिंहदरबार पूर्वी गेटमा एकाएक झुल्कियो हिरा बिजुली नेपालीको अनुहार। कर्णालीको घामपानीले उनको 'सावलो' अनुहारको रङ अझै गाढा बनाएको थियो। नसप्रेका दाह्रीजुँगा संरक्षित अनुहारमा अनौठो चमक थियो।
‘कहाँबाट देखियो अनुहार?’, जम्काभेटमा भलाकुसारी थालियो।
उनी मुस्कुराए मात्रै। एकछिन यताउति नियालेपछि भने, ‘विदेश थिइनँ। हाम्रै देशको अर्को देशमा थिएँ।’
उनको घुमाउरो जवाफको आसय ‘कर्णाली थिएँ’ भन्ने बुझ्न गाह्रो भएन। उनी कर्णालीलाई 'देश भित्रको देश' ठान्छन्।
नजिकैको पसलमा सँगै कालो चिया पिउने अफर स्वीकार्दै उनले आफू राजधानीबाट हराउनुको कारण बताए। फेरि काठमाडौं आउनुको अर्थ सुनाए र कर्णालीमा बसेर कला क्षेत्रका लागि गरिरहेको कामको बेलिविस्तार लगाए।
अब उनी हराउनुको कथा भन्न थाले। केही वर्षअघि नाटक ‘सुनेकेशरी’मा अभिनय गरेपछि उनलाई महसुस भयो, 'कर्णालीको भाषा, कला, संस्कृति, बाजा र मौलिकता सब जोखिममा छ।'
कर्णाली क्षेत्रकै लोककथा टिपेर सत्यमोहन जोशीले लेखेको कथामा आधारित थियो नाटक ‘सुनकेशरी’।
नाटकले कर्णालीको भाषा बोल्ने पात्र खोज्थ्यो। त्यहीँको लयमा गीत गाउने कलाकार खोजिरहेको थियो। त्यहीँको बाजा खोजिरहेको थियो। नाटकभरि त्यहाँ बोलिने भाषा हिराले मात्रै बोले। अरुलाई त आए पो बोल्नु? बाजादेखि भेषभुषासम्म जुगाड गरियो। काम चलाइयो।
उनी त्यसपछि राजधानीमा चम्किँदै गरेको करियर, उकासिँदै गरेको आर्थिक अवस्थाको मोहजालबाट उम्किएर आफ्नै जिल्ला मुगु पुगे। सुरुमा ‘कर्णाली थिएटर’का नाममा स्थानीयलाई नाटकका स्वाद चखाए। बिस्तारै त्यसलाई 'कर्णाली आर्ट सेन्टर'मा परिणत गरे।
हिरा बिजुली, नाटक प्रेमीका लागि नौलो नाम भने होइन। नेपाली नाटक इतिहासमा पहिलोपल्ट धेरै दर्शक नाटक घरसम्म ओराल्ने ‘कर्णाली दख्खिन बग्दो छ’मा देखिएका थिए उनी।
त्यसपछि उनले कलामा इच्छुक मुगाली केटाकेटीहरु जम्मा गरेर आफूले जानेका सीप सिकाए। आफू कर्णाली फर्किनुको उद्देश्य बुझाए। १२ जनाको समूहसँगै उनी पूर्णरुपमा कर्णाली आर्ट सेन्टरमै केन्द्रित छ।
यतिबेला यी १२ मा ६ थपिएर १८ जना भएका छन्। सबै काठमाडौंमा छन्। मण्डला थिएटरमा कर्णालीकै भेषभूषा, भाषा र कथामा आधारित नाटक ‘गर्भ छिंटा’ देखाइरहेका छन्।
‘गर्भ छिंटा’ कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा भएको एउटा प्रचलन हो। जहाँ बच्चा पेटमै रहँदा बिहेबारी हुन्छ। बच्चाहरु हुर्किँदै जाँदा पेटमै बिहे भएको/भएकी जीवनसाथी मन पराउन पनि सक्छन्, नपराउन पनि। तर, बिहेचाहिँ हुन्छ। यसले पार्ने सामाजिक प्रभावमाथि बिजुली आफैंले नाटक लेखन, निर्देशन र अभिनय पनि गरेका छन्।
०००
हिरा बिजुली, नाटक प्रेमीका लागि नौलो नाम भने होइन। नेपाली नाटक इतिहासमा पहिलोपल्ट धेरै दर्शक नाटक घरसम्म ओराल्ने ‘कर्णाली दख्खिन बग्दो छ’मा देखिएका थिए उनी। कर्णालीको जनजीवनमाथि बनेको उक्त नाटक गुरुकुलमा मञ्चन भएको थियो। त्रिविका विद्यार्थी र केही साहित्य, कलाप्रेमी दर्शकमाझ नाटक देखाएर रंगमञ्चको भोकतिर्खा मेटिरहेका सुनिल पोखरेललाई यही नाटक हेर्न उर्लेको दर्शकको भीडले हौस्याएको हो। यही नाटककाे सफलताले नै सहरभरि थिएटर फैलाएको हो।
१० वर्षमा हिराले कर्णालीमा गरेको संघर्षको नतिजा हो नाटक 'गर्भ छिटा'। उनले त्यहाँ स्थानीय कथा बटुले, स्थानीय कलाकार बटुले, पहिरन बटुले, भाषा बटुले र त्यसलाई पोको पारेर राजधानी ल्याइपुर्याएका छन्। तर, राजधानीले भेउ पाइसकेको रहेनछ।
बिजुलीको अभिनय कला ‘द ग्रेट सर्कस’, ‘चराहरुको सम्मेलन’ हुँदै', ‘सुनकेशरी’सम्म काठमाडौंकै नाटक घरमा देखियो। 'सुनकेशरी' पछि उनी भने एकाएक हराए। उनी जसैगरी थिएटरबाट हराएका उनका सहकर्मी फिल्ममा देखिन थाले। तर, उनी भने हराएको हरायै भए। कहाँ गए ‘सुनेकेशरी’ नाटकमा अभिनय गरेपछि?
हो, त्यसैको उत्तर दिन्छ यो नाटकले। यी १० वर्षमा हिराले कर्णालीमा गरेको संघर्षको नतिजा हो यो नाटक। उनले त्यहाँ स्थानीय कथा बटुले, स्थानीय कलाकार बटुले, पहिरन बटुले, भाषा बटुले र त्यसलाई पोको पारेर राजधानी ल्याइपुर्याएका छन्। तर, राजधानीले भेउ पाइसकेको रहेनछ। आइतबार बेलुकी मण्डला थिएटर पुग्दा त्यस्तै महसुस भयो। किनभने अपेक्षित दर्शक थिएनन्।
मन कटक्क भयो। प्रश्नकाे उफाल उठ्यो- ‘कर्णालीमा नाटक घर खोल्ने सपना बोकेर राजधानीको सफर गरेका यी स्वप्नजीविमाथि के बितिरहेको होला?’
नाटक सकिएपछि सावलो अनुहारका हिराले दाँतको चमकसाथ भने, ‘नाटक घर बनाउन पाए यो निष्ठुरी काठमाडौंलाई नाटक हेरिदेऊ भनेर यहाँसम्म आउन त पर्दैनथ्यो।’
त्यसपछि हामीले एकलट आफैंले सुर्क्याइरहेको कालो चियातिर मात्रै हेर्यौं।
‘अँ, साँच्ची कर्णालीमा के गरिरहनुभएको छ नि?’, मैले प्रसंग मोड्न चाहें।
उनले कर्णाली आर्ट सेन्टरमार्फत मौलिकता र संस्कृति जोगाउने अभियान चलाइरहेको बताए। विशेष गरी नयाँ पुस्तालाई परम्परागत लोकबाजा, लोकगीत, संस्कृति र भाषाका बारेमा उनको समूह प्रशिक्षण दिइरहेको छ। ‘हरेक हप्ता हामी कुनै एउटा स्कुलमा पुगेर विद्यार्थीहरुलाई यस विषयमा प्रशिक्षण दिन्छौं। महत्व बुझाउँछौं,’ उनले अनुभव सुनाए, ‘हाम्रो यो अभियानले त्यहाँ स्थानीय र शिक्षकहरु असाध्यै खुसी हुनुहुन्छ।’
उनी आफ्नो कर्ममा सन्तुष्ट छन्। भन्दै थिए, ‘हाम्री आमाले गाउन बिर्सिसकेको मांगल (एक प्रकारको गीतको लय) यी नयाँ पुस्ताका बहिनीहरुलाई गाउने बनाइयो। यिनले अरुलाई सिकाउलान्। संस्कृति यसैगरी हो अब जोगाउने।’
मुगु छायाँनाथ रारा नगरपालिकाको भामबाडाका बिजुलीलाई सुरुमा स्थानीयहरु पढेको मान्छेले जागिर नखाएर त्यसै भड्किएको भन्दै काम गर्न सुझाउँथे। अहिले स्थानीयहरु उनको अभियानमा सकेसम्म सहयोग गर्छन्। सही मार्ग पकडेको भन्दै प्रशंसा गर्छन्।
कर्णाली आर्ट सेन्टरको आफ्नो उद्देश्य छँदैछ। अरुका उद्देश्यमा आफ्नोपन मिसाएर यसलाई जिवित राख्न उनी अहिलेसम्म सफल छन्। विभिन्न विषयमा सचेतना फैलाउने सरकारी र गैह्रसरकारी संस्थाको सहयोगी यो आर्ट सेन्टर छ। नाटक र कलाको माध्यमबाट उनीहरुका कुरा स्थानीयले बुझ्नेगरी पुर्याउने काम पनि उनले गरिरहेका छन्। भन्छन्, ‘यसले हामीलाई जोगाइरहेको छ। हामी संस्कृति जोगाउन खोजिरहेका छौं।’
‘कर्णालीसँग दुःख अपरम्पार छन्। अभाव एनजिओको एजेन्डा बन्यो। तर, यहाँ रहेका सम्पत्ति कसैले देखेनन्।'
अघिल्लो पुस्ताको अवसान सँगसँगै लोकबाजा बजाउने सीप हराउने कुरामा उनी सचेत छन्। त्यसैले नयाँ पुस्ताकालाई उक्त सीप सिक्न उनी प्रेरित गरिरहेका छन्। आफ्नै आँखाअघि ‘दुई फुक्या सहनाइ’ (फुक्ने ठाउँ दुइटा भएको सहनाइ) बजाउने मान्छेको अभाव भएकोमा उनलाई थकथकी लागिरहन्छ। भन्छन्, ‘मैले एकजना हजुरबाले बजाएको सुनेको हुँ। उहाँबाट त्यो सीप कसैले सिकेन। अहिले बजाउने मान्छे नै छैन।’
‘कर्णालीसँग दुःख अपरम्पार छन्। अभाव एनजिओको एजेन्डा बन्यो। तर, यहाँ रहेका सम्पत्ति कसैले देखेनन्,’ उनको गुनासो छ।
त्यसैले उनी अहिले यसका लागि स्थानीय र प्रदेश सरकारको आँखा समेत खोल्न लागिपरेका छन्। ‘आशा देखाउनुभएको छ,’ भरोसा नरहेको संकेत गर्दै भने, ‘तर, हामी अब कुनै पनि मूल्यमा हाम्रो संस्कृति जोगाएर छाड्छौं।’
यति पढिरहँदा नबिर्सिदिनुहोस्, कर्णालीका १८ अनुहार। जो अहिले राजधानीमा नाटक देखाइरहेका छन्। एकपल्ट नाटक हेर्नुहाेस्, ‘मन पर्ने मात्रै होइन, कर्णालीका यी कलाकारहरुको फ्यान भएर निस्किनुहुनेछ।’
सोमबार बाहेक बेलुकी ५ बजेदेखि नाटक ‘गर्भ छिटा’ मञ्चन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।