बुटवल- देवदहमा ढुङ्गा प्रहार गरी हत्या गरिएका व्यक्ति नेपाल तरुण दलका कार्यकर्ता रहेकाे खुल्न आएको छ।
आइतबार बेलुका ८ बजेतिर लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका अनिष पुरी नेपाल तरुण दल देवदह नगर सदस्य रहेको तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले जानकारी दिए।
घटनाको नेपाल तरुण दल रुपनदेहीले भर्त्सना गरेको छ। दलले विज्ञप्ति निकाली हत्यामा सम्लग्नलाई कारबाहीको माग गर्दै दिउँसो २ बजेदेखि ४ बजेसम्म देवदह क्षेत्रमा चक्काजाम गर्ने जनाएको छ।
हत्यामा संलग्न ५ जना पक्राउ, याेजनाकार फरार
पुरीको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा देवदह-९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर राना रहेका छन्। घटनाका मुख्य योजनाकार देवदहकै 'माला' भनिने सागर राना र तारा बराल रहेकाे र उनीहरु हालसम्म फरार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए।
मोटरसाइकलमा सवार देवदह नगरपालिका-५ का अन्दाजी २३ वर्षीय पुरीलाई देवदह भलुहीमा उक्त समूहले ढुंगा र लाठीले प्रहार गरी गम्भीर अवस्थामा छाेडेका थिए। टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसाे पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो। विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ।
एक मात्र छोरा अनिषको हत्याकाे खबरपछि उनका बुबा र आमा अचेत छन्। उनीहरु दुबै जनाकाे बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ।
मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।