बुटबल- नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्न आफू लागिपरेको बताएका छन्।
कार्यकारी निर्देशक पौडेलले निगममा हुने विकृति, विसंगति अन्त्य गर्दै निगमका हरेक कारोबार पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको १५औं वार्षिक साधारणसभाको शनिबार रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै उनले निगममा समस्या रहेको स्वीकार गर्दै यसको उपचार खोजिरहेको बताएका हुन्। ‘निगम पनि अहिले रोगले थलिएको छ, तर निको नहुने क्यान्सर नै लागेको भने होइन,’ पौडेलले भने, ‘निगमलाई मुटु रोग लागेकाले यसको उपचार संभव छ र प्रयास गरिएको छ।’
उनले निगमका गतिविधिलाई प्रभावकारी बनाउने योजना पनि आफूले अगाडि सारेको उल्लेख गरे।
निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ। मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उनले बताए।
भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले दुई वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम सुरु गरेकोमा पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन नसकेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरे। पेट्रोलियम व्यवसाय सेवामूलक व्यवसाय भएकाले लागत अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै उनले व्यवसायीका समस्या समाधानमा निगमको ध्यानाकर्षण गराए।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले व्यवसाय बचाउनका लागि कम्तीमा ६ प्रतिशत कमिसन दिनुपर्ने, धरौटीमा बैंकले दिने सरह ब्याज उपलब्ध गराउन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।