काठमाडौं– पाकिस्तानका शादब खान अन्तर्राष्ट्रिय टी–२० खेलमा जित निकाल्ने कान्छा खेलाडी बन्न सफल भएका छन्।
शुक्रबार राति जित निकालेको दिन शादब १९ वर्ष २३ दिनका थिए। शादबले नेपालका सोमपाल कामीको कीर्तिमान भंग गरेर नयाँ रेकर्ड बनाएका हुन्। यसअघि सोमपालले सन् २०१५ मा टी–२० खेलमा जित्ने कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए।
श्रीलंकाविरुद्धको सिरिजमा पाकिस्तानले उत्कृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा भएको पाकिस्तानले पाँच खेलको एकदिवसीय सिरिज पाकिस्तानले ५–० ले क्लिन स्विप गरेको थियो।
लगत्तै सुरु भएको तीन खेलको टी–२० सिरिजमा लगातार २ खेलमा जित निकाल्दै पाकिस्तानले सिरिज कब्जा गरेको छ। दोस्रो खेलमा श्रीलंकालाई २ विकेटले पराजित गरेको पाकिस्तानको जितमा शादब खानले उत्कृष्ट प्रदर्शन गरे। उनले बलिङतर्फ १ विकेट लिँदा ब्याटिङमा नटआउट १६ रनको योगदान गरे। ८ बलको सामाना गरेका शादबले १ चौका र १ छक्का हिर्काएपछि पाकिस्तानले १ बलअघि लक्ष्य भेट्टायो।
३ जुलाई २०१५ नेपालले नेदरल्यान्ड्सलाई टी–२० खेलमा ३ विकेटले पराजित गरेको थियो। चार खेलको टी–२० सिरिज खेल्न नेदरल्यान्ड्सको आम्टर्डम पुगेको नेपालले चौथो खेलमा नेदरल्यान्ड्स दिएको १ सय ४० रनको लक्ष्य २ बल खेल्न बाँकी छँदा ७ विकेट गुमाएर पार गरेको थियो। नेपालको जितमा सोमपाल कामीले १ विकेट लिएका थिए भने नटआउट ८ रनको योगदान दिएका थिए। नेदल्यान्ड्सविरुद्ध जित हात पारेको दिन सोमपालको उमेर १९ वर्ष १ सय ५१ दिनका थिए। सोमपालले टी–२० खेलमा जित निकाल्ने कान्छो खेलाडीको रेकर्ड बनाएको खेलमा नेपालले सिरिज भने ३–१ ले गुमाएको थियो।
टी–२० मा सोमपालको अर्को रेकर्ड
टी–२० क्रिकेटमा सोमपालको नाममा अर्को रेकर्ड भने अहिलेसम्म कसैले तोड्न सकेको छैन। सोमपालले २४ नोभेम्बर २०१४ मा टी–२० क्रिकेटमा दसौं नम्बरमा ब्याटिङ गरेर सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए। सोमपालले यो रेकर्ड हङकङविरुद्धको खेलमा बनाएका थिए। नेपालका अन्य ब्याट्सम्यान सस्तैमा आउट भएपछि दसौं नम्बरमा मैदान प्रवेश गरेका सोमपालले ४० रनको योगदान गरेका थिए। नेपालले ८ विकेट गुमाएर २५ रनको जोडेको स्थितमा मैदान प्रवेश गरेका सोमपालले राम्रो ब्याटिङ गरेपछि नेपालले ७२ रनको सम्मानजनक योगफल तयार गरेको थियो। सोमपालले ३१ बलको सामना गर्दा ६ चौक र २ छक्का प्रहार गरेका थिए। हङकङले ८ विकेट गुमाएर १ बल खेल्न बाँकी छँदा लक्ष्य पारेको थियो।
दसौं नम्बर ब्याटिङ गरेर धेरै रन बटुल्ने खेलाडीको दोस्रो नम्बरमा पाकिस्तानका वाहाब रियाज छन्। रियाज नेपालका सोमपाल भन्दा १६ रनले पछि छन्। गत मार्चमा रियाजले वेस्ट इन्डिजविरुद्धको खेलमा दसौं नम्बरमा ब्याटिङ गरेर २४ रन जोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।