म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले उत्कृष्ट प्रदर्शन जारी राखेको छ।
उत्कृष्ट लयमा रहेको सिटीले शनिबार राति भएको खेलमा वेस्ट ब्रुमलाई ३–२ ले पराजित गरेर २ वटा कीर्तिमान बनाउन सफल भयो।
सिटीले लिगमा अहिलेसम्मकै उत्कृष्ट सुरुवात गर्दै रेकर्ड बनाएको छ। लिगमा १० खेलबाट सिटीले २८ अंक जोडिसकेको छ। १० मध्ये सिटीले ९ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग ५ अंकको अग्रता लिएको सिटीको गोल अन्तर २९ छ।
वेस्ट ब्रुममाथि जित निकालेसँगै सिटीले सबै प्रतियोगितामा गरी अपराजित खेल संख्या २१ पुर्याएको छ। सिटी २१ खेलसम्म अपराजित रहेको यो पहिलो पटक हो। २१ मध्ये सिटीले १७ खेलमा जित र ४ खेलमा बराबरी खेल्यो।
वेस्ट ब्रुममाथि जित दिलाउने क्रममा सिटीका साने, फर्डिनान्डो र स्टर्लिङले गोल गरेका छन्। पछिल्ला ८ खेलमा सिटीले ३२ गोल गर्दा केवल ५ गोल खाएको छ।
यता मध्यरातमा भएको खेलमा चेल्सीले वर्नमाउथलाई १–० ले हरायो। चेल्सीको जितमा इडिन हजार्डले ५१ मिनेटमा गोल गरेका थिए। अन्य खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–०, आर्सनलले स्वान्सीलाई २–१, लिभरपुलले हडर्सफिल्डलाई ३–० र स्टोकले वाटफोर्डलाई १–० ले पराजित गरेको छ। क्रिस्टल प्यालेस र वेस्ट ह्यामले २–२ बराबरी गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।