काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच परिवर्तन (रिह्याबिलिटेसन) को काम सुरु भएसँगै काठमाडौं–लुक्ला, लुक्ला–काठमाडौं उडान रामेछापको मन्थली विमानस्थलबाट गर्ने तयारी भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेबाट विमानस्थल रन वेको पिच परिवर्तनको काम थालनी गर्दैछ।
रनवे पिच परिर्वतनका लागि विमानस्थल कार्यालयले बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म पूर्ण रुपमा उडान तथा अवतरण बन्द गर्ने भएपछि लुक्ला उडान रामेछापबाट गर्ने तयारी भएको हो।
विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले लुक्ला उडान गर्दै आए विमान कम्पनीहरुलाई रामेछापबाट उडान गर्न सुझाएको बताए। ‘बिहान ८ नबज्दासम्म विमानस्थलका कुनै पनि उडान तथा अवतरण हुँदैन’, क्षेत्रीले भने, ‘लुक्ला उडान बिहान ६ बजेदेखि ८ बजेकै समयमा बढी हुन्छ।’ लुक्लाको मौसम दिउँसो भन्दा बिहानकै समय सफा हुने हुँदा पनि रामेछापबाट गर्नु उचित हुने उनको भनाइ छ।
‘बिहानको ८ बजेपछि मात्रै उडान तथा अवतरण खुल्छ’, क्षेत्रीले भने, ‘१० घन्टा बन्द विमानस्थल खुल्न साथ हवाई चाप बढी हुन्छ। सबै लुक्लाको मात्रै उडान गर्न पनि सम्भव हुँदैन। एयरलाइन्स कम्पनीले सुरक्षित र समयमै उडान गर्नका लागि रामेछाप रोज्नु उचित हुन्छ।’
विमानस्थल कार्यालयले एयरलाइस्स कम्पनीलाई बारम्बार लुक्ला उडान व्यवस्थित गर्ने निर्देशन दिँदै आएको छ। विमानस्थल कार्यालयको आग्रह अनुसार तारा एयरले भने रामेछापबाट लुक्ला उडान गर्ने तयारी समेत थालेको क्षेत्री बताउँछन्।
सिजनको समयमा मौसम सफा भएको बेला लुक्ला उडानमा दैनिक १ सय मुभमेन्ट समेत हुने गरेको उनको भनाइ छ। अहिले तारा, समिट, सिता र नेपाल एयरलाइन्सले लुक्ला उडान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।