काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले एस३५०/एच१२५ हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय गरेको छ।
प्राधिकरण महानिर्देशक सञ्जीव गौतमका अनुसार सामान्य अवस्थामा यी हेलिकोप्टरले ५ जना मात्रै यात्रु बोक्न पाउने गरी निर्णय भएको जानकारी दिए। तर, हाई अल्टिच्युटमा भने हेलिकोप्टर कम्पनी तथा पाइलटले लोड ब्यालेन्स गरेर यात्रु बोक्नुपर्ने हुन्छ।
‘निर्माता कम्पनीले यस्ता हेलिकोप्टरमा ६ जना यात्रु र एक जना पाइलटका लागि ७ सिट राखेको हुन्छ’, उनले भने, ‘तत्कालको अवस्थमा सिट संख्या घटाएको भने होइन। यात्रु संख्या मात्रै घटाउने निर्णय भएको हो।'
पाइलट छेउको सिट हटाउन नियमक र सेवा प्रदायक सहमत भएपछि निर्णय भएको उनले जानकारी दिए।
नेपालको उडानलाई कसरी अझै सुरक्षित बनाउन विषयमा बिहीबार हेलिकोप्टर कम्पनीका सञ्चालक प्राधिकरणबीच छलफल भएको थियो। उक्त छलफलमा पाइलटको छेउमा हुने सिट (बेन्चसिट) मा यात्रु नबोक्ने निर्णय भएको प्राधिकरण उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए। तर, एएस३५०/एच१२५ हेलिकोप्टरबाहेक अन्य कम्पनीको हेलिकोप्टरको विषयमा भने केही परिर्वतन नभएको उनको भनाइ छ।
छलफलकै क्रममा मौसम, उडान सुरक्षाका विषयमा सेवा प्रदायकहरुले अपनाउनुपर्ने सतर्कतामा कुनै पनि कसर बाँकी नराख्न निर्देशन भएको उनले जानकारी दिए।
‘हेलिकप्टरमा क्षमताभन्दा बढी यात्रु भएमा पाइलट आफैले पनि रोकथाम गर्न सक्छन्’, पोखरेलले भने, ‘नियामकको कुनै पनि उपस्थिति नभएको ठाउँमा अनुकूलतामा प्रयोग गर्न मिल्ने सिट दुरुपयोग नगर्ने गरी एक यात्रु कम बोक्ने निर्णय भएको हो।’
एएस३५०/एच१२५ हेलिकोप्टर नेपालमा २१ वटा थिए। ताप्लेजुङमा भएको एयर डाइनेष्टीको यही कम्पनीको हेलिकोप्टर दुर्घटनापछि अब २० वटा मात्रै बाँकी छन्।
अहिले यी नामका हेलिकोप्टर एयरडाइनेष्टीसँग ४, श्री एयरलाइन्ससँग २, सिम्रिकसँग ३, सुमिटसँग २, हेलीएभरेष्टसँग २, अल्टिच्युटसँग १, मनाङसँग २, माउन्टेनसँग २ र कैलाशसँग २ वटा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।