म्याड्रिड– स्पेनिस ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ। स्टार खेलाडी लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले एथलेटिको बिल्बाओलाई २–० गोलले पराजित गरेको छ।
मेसीले ३६ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी टाइममा पाउलिन्होले अर्को गोल गरेपछि बार्सिलोनाले २–० गोलको जित पक्का गरेको हो।
सिजनमा बार्सिलोनाका लागि मेसीले १५ खेलमा १६ गोल गरिसकेका छन्। मेसीले ला लिगामा १० खेलमा १२ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा ३ खेलमा ३ गोल गरेका छन्। यस्तै स्पेनिस सुपर कपमा उनले १ गोल गरेका छन्।
ला लिगाका अन्य खेलमा एथलेटिको म्याड्रिड र भिल्लारियालले १–१ गोलको बराबरी खेलेका छन्। भ्यालेन्सियाले अलाभेसलाई २–१ र सेभिल्लाले लेगानेसलाई २–१ गोलले नै पराजित गरेका छन् ।
लिगमा १० खेलमा २८ अंक जोड्दै बार्सिलोना शीर्ष स्थानमा छ। दोस्रो स्थानको भ्यालेन्सियाको २४ अंक छ। रियल म्याड्रिड २० अंक जोडेर तेस्रो स्थानमा छ। रियलले एक खेल कम खेलेको छ। चौथो स्थानको एथलेटिको म्याड्रिडले पनि २० अंक नै जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।