इटहरी– देशभरिमा नेपाली कांग्रेसबाट तीन जना महिला जिल्ला सभापति छन्। याङ्जिन विस्ट (मुस्ताङ), किरण कोइराला (बाँके) र लीला बोखिम (ताप्लेजुङ)।
ताप्लेजुङको भित्री गाउँ सिरिजंगा गाउँपालिकामा २०२२ सालमा जन्मिएकी बोखिम १४ वर्षको उमेरदेखि नै राजनीतिमा लागिन्। २०३६ सालको विद्यार्थी आन्दोलनमै उनी निकै सक्रिय थिइन्। 'घरबाट भागीभागी आन्दोनलमा हिँडेकी थिएँ,' उनलाई सम्झना छ, 'सँगैका दिदीहरुले जाऔं भनेपछि म पनि पछि लाग्थेँ।'
सदरमुकामबाट झन्डै एक दिन पैदल हिँडेर पुगिन्छ सिरिजंगा गाउँपालिका। देशको राजनीतिप्रति त्यति धेरै जानकारी नभए पनि समाजको समस्या र स्थानीय राजनीतिप्रति जानकार छिन् बोखिम। उत्तरी सिमाना किमाथांकादेखि भारतको बोर्डरसम्मका समस्याबारे थाहा छ उनलाई।
उनका बाबु त्यो बेलाका खरो प्रधानपञ्च। गाउँभरिका मान्नेगुन्ने कहलिएका। तर आफ्नै छोरी पञ्चायतविरुद्ध लागेको सुइँको पाउन सकेनन् उनले। उनका लागि घरमा त्यति कडिकडाउ थिएन। त्यसैले पनि बाहिर घुमफिर गर्न केले छेक्थ्यो र।
पोस्टर, पम्पेल्ट टास्ने काममा निकै सक्रिय भइन् बोखिम। आन्दोलनका कहिलेकाँही पोस्टर बोकेरै घर आउनुपर्थ्यो। त्यो बेला भने निकै समस्यामा पर्थिन् उनी। 'ती पोस्टर चामलको बोरा र धानको भकारीमा पुरेर राख्थेँ,' उनी हाँस्दै भन्छिन्, 'आमाले देखेको बेला सुटुक्क उनैलाई दिन्थेँ।'
२०४७ सालमा प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनको बेला थियो। उनलाई गाउँभरि कांग्रेसी भनेर चिन्न थालिसकेका थिए। पञ्चहरु आएर छोरीलाई 'ठेगान लगाउनुपर्यो' भन्थे। बाबुले पनि कांग्रेसमा लागेर खासै फाइदा नहुन सल्लाह दिइरहन्थे। 'तर कहिल्यै पनि पार्टीमा नहिँड र राजनीति नगर भन्नुभएन,' उनी सम्झन्छिन्।
केही समय सदरमुकामै बसेर आन्दोलन गरिन्। बोल्न सिपालु भएका कारण पनि उनी अरुभन्दा अगाडि थिइन्। ०४८ मा कांग्रेसको गाविस सभापतिमा उमेदवारी दिइन्। साबिकको सिकैचा गाविसको सभापतिमा निर्विरोध निर्वाचित भइन्।
उम्मेदवारको नामै काटियो
उनको राजनीतिक सक्रियता बढिरहेको थियो। गाउँभर उनको पक्षमा माहोल पनि बन्दै थियो। बाबुको साखले नै आफ्नो यात्रा सहज भएको उनी स्विकार्छिन्।
गाविस अध्यक्षको उम्मेदवारी बन्ने भइसकेकी थिइन्। नाम दर्ताको अन्तिम तयारी भइरहेको थियो। तर मतदाता नामावलीमा नाम नभएको पाएपछि उनी आश्चर्यमा परिन्। 'मैले जित्ने निश्चित भएपछि नेकपा एमालेले कर्मचारीसँग मिलेर नामावलीबाट नाम कटाइदिएका रहेछन्,' उनी भन्छिन्।
त्यसपछि उनी नेपाल महिला संघको जिल्ला सभापतिमा निर्वाचित भइन्। विकट जिल्ला त्यसमाथि पनि महिला नेतृत्वको अभावका कारण उनलाई निर्विरोध हुने मौका मिल्यो। जसले गर्दा पनि उनको राजनीतिक यात्र थप सहज बन्दै गयो।
गाउँमा बस्दै आएकी उनी सदरमुकाम फुङलिङ बस्न थालिन्। महिला संघ र पार्टी दुवैतिर उनको व्यस्तता निकै बढिसकेको थियो।
२०५२ सालको अधिवेशनबाट उनी नगर सभापतिमा निर्विरोध नै निर्वाचित भइन्। जसले उनको राजनीतिक उचाइ ह्वात्तै बढायो। केन्द्रीय स्तरका नेतासँग उनको पहुँच पुग्यो।
एक कार्यकाल नगर सभापति भएपछि उनी निरन्तर जिल्ला सदस्यमा बसिन्। तेह्रौं महाधिवेशनबाट उनी जिल्ला सभापतिमा निर्वाचित भएकी हुन्। ४ जनाको उम्मेदवारी परेकोमा विजय उनकै पक्षमा भयो। नेपाली कांग्रेसको विधानमा ५१ प्रतिशत मत नपाए पुन: निर्वाचन गर्नुपर्ने व्यवस्था छ। तर उनले ५९ प्रतिशत मत प्राप्त गरेकी थिइन्। त्यसबेला उनीसँगै हालका प्रदेश १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हांगाम, गजेन्द्र तुम्याङ र पदम पालुवाले उम्मेदवारी दिएका थिए।
जनताको मत फापेन
पार्टीको राजनीतिमा सधैं सफल बन्दै आएकी उनी जननिर्वाचित बन्ने मामलामा भने असफल भइन्। दोस्रो संविधानसभाको निर्वाचनमा ताप्लेजुङ क्षेत्र नम्बर १ बाट उनको उम्मेदवारी परेको थियो। 'जित्ने लगभग पक्कापक्की भइसकेको अवस्थामा पार्टीकै नेताहरुको निर्देशनमा हराइयो,' उनी भन्छिन्, 'हार मानेर घर फर्किसकेका प्रतिस्पर्धीहरु पछि विजयी हुँदा म त निकै आश्चर्यमा परेँ।' त्यसबेला उनका प्रतिपर्धी नेकपा एमालेका भुपेन्द्र थेवे १३९ मतले विजयी भए।
त्यसपछि उनलाई निर्वाचनप्रति जाँगर नै हराएर गएको छ। जनताले विश्वास गर्दा पनि पार्टीका केही नेताको चित्त बुझाउन नसक्दा चुनावको नतिजा फरक आउने उनको बुझाइ छ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति पनि उनको चिन्ता छ। नेतैपिच्छेका आफ्ना मान्छे भएपछि जनताका मान्छे बन्ने कोही नभएको खल्लो अनुभूति छ बोखिमसँग।
'पार्टीमा लगानी र त्याग गर्नेभन्दा खुरापाती बढी हाबी छन्,' उनी हाकाहाकी भन्छिन्, 'अहिले पार्टी भालुको कन्पट समाउनु र छाड्नु जस्तै भएको छ।'
कतिपय अवस्थामा अरुको काममा चित्त बुझाउँदिनन् उनी। पार्टीका नेताहरु गरिब किसानको भन्दा पनि धनीहरुको पक्षमा लागेको उनलाई पटक्कै मन पर्दैन। गाउँका गरिबको समस्या सुन्ने र उनीहरुको घाउमा मलम लगाउन सक्ने अवस्था अझैसम्म सिर्जना नभएको उनको बुझाइ छ।
‘देशमा लोकतन्त्र आएको भए पनि लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन,’ उनी भन्छिन्, ‘इमानदारी र नैतीकताको अभावमा पार्टीका नेताहरु पतनको बाटोमा लागिरहेका छन्।’
पुरुष हैकम कायमै
आफू सभापति भए पनि अन्य पुरुषको सोचका आधारमा चलिरहनुपरेको उनको भनाइ छ। अधिकार भए पनि पुरुषको हैकममै चल्नुपर्ने अवस्था रहेको उनी स्विकार्छिन्। हाल जिल्ला कार्यसमितिमा ६ महिला र १४ पुरुष छन्। आफ्नो बहुमत नभएको कारण पुरुषलाई नै मनोनीत गर्नुपर्ने बाध्यतामा छिन् उनी।
महिलालाई अधिकारसँगै आर्थिक क्षमता बढाउने सिपको जरुरत परेको उनको बुझाइ छ। त्यसैले उनी एक एनजिओमार्फत महिला उद्यमी बढाउने काममा लागेकी छिन्। नेपाल महिला उद्यमी संघ नामको एनजिओ चालउँछिन् उनी। पहिला २२ जनासम्मले रोजगारी पाएको उक्त संस्थामा हाल ८ जना महिला काम गर्छन्। जसको माध्यमबाट गाउँका महिलालाई उद्यामशीलतासँग जोड्ने प्रयास थालिएको उनले बताइन्।
राजनीतिप्रतिको मोह निकै कम छ उनमा। तर पार्टीले आवश्यकता महसुस गरे केन्द्रीय सदस्य उठ्ने सम्भावना भने नटरेको बताउँछिन्। ‘हामीले जतिसुकै ठूलो गफ गरे पनि डाडुपन्युँ चलाउने अरु नै छन्,’ उनी भन्छिन् , ‘अहिले भजन गाउनेले पात्र पद पाउँछ। अरु त चिल्लै।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।