काठमाडौं– एकअर्काको देशमा व्यवसाय प्रवर्द्धन र लगानीको वातावरण निर्माणका लागि नेपाल जेम एन्ड ज्वेलरी एशोसियसनले हङकङका दुई संस्थासँग सहमति गरेको छ । ज्वेलरी एशोसियसन , नेपाल चेम्बर अफ कमर्स हङकङ र द हङकङ नेप्लिज विजनेस एशोसियसनबीच सम्झौता भएको हो। ज्वेलरी एशोसियसनका तर्फबाट अध्यक्ष ज्योत्सना श्रेष्ठ, द चेम्बर अफ कमर्स हङकङका तर्फबाट देशुराम पराजुली र हङकङ नेप्लिज विजनेश एशोसियसनका तर्फबाट अध्यक्ष प्रकाश पुन र ले हस्ताक्ष गरेका हुन्।
हङकङमा हालै सम्पन्न ट्रेड एक्स्पो अवलोकनका लागि पुगेका नेपाली गहना व्यवसायीहरुले दुई देशका व्यवसायी र व्यवसायमा सहकार्य गर्ने सम्झौता गरेका हुन् । एक अर्काको देशमा गहना मात्रै नभइ, लगानी र पर्यटन प्रवद्र्धनका लागि सघाउने सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन्।
हङकङ कन्भेन्सन तथा एक्जिविसन सेन्टरमा हरेक वर्ष मार्च १ देखि ४ गतेसम्म हुने ज्वेलरी फेयरमा नेपाली सहभागीता सम्बन्धि विशेष सम्झौता भएको छ । उक्त प्रर्दशनीमा हरेक वर्ष नेपाली उत्पादन र व्यवसायीको सहभागीताका लागि हङकङस्थित द हङकङ नेप्लिज विजनेस एशोसियसनले सहयोग गर्नेछ । उक्त प्रदर्शनीमा सहभागी जनाउन इच्छुक नेपाली व्यवसायीहरुको छनोट नेपाल जेम एन्ड ज्वेलरी एशोसियसने गर्नेछ । प्रदर्शनीका लागि नेपाललाई १० वटा स्टल उपलब्ध गराउने सहमति समेत भएको छ । प्रदर्शनीका लागि हङकङ जाने प्रक्रिया र व्यवस्थापनमा पनि द हङकङ नेप्लिज विजनेस एशोसियसनले सघाउने भएको छ ।
नेपाल सरकारले भिजिट नेपाल २०२० र लगानी सम्मेलन गर्न खोजिरहेको सन्दर्भमा दुई देशका व्यवसायीका संस्थाबीच भएको यो सम्झौताले सहयोग पुर्याउने अपेक्षा अध्यक्ष श्रेष्ठले लिएकी छिन् । उनले भनिन्, ‘हामीले हङकङमा नेपाली उत्पादन प्रवद्र्धन गर्नुका साथै नेपालमा पर्यटक र लगानी भित्र्याउन समेत सहमति गरेका छौं ।’
झन्डै दुई सय भन्दा बढी देश सहभागी हुने प्रदर्शनीमा नेपालको उपस्थितिले महत्वपूर्ण अर्थ राख्ने उनले बताइन् । यो सहमतिका लागि हङकङका काउन्सिल जनरल कमल भट्टराईको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।
ज्वेलरीका लागि विश्वकै राम्रो बजार मानिएको हङकङबाट यसपल्ट सहभागी हुँदा आफूहरुले धेरै कुरा सिकेको उनले बताइन् । नेपालमा ज्वेलरी क्षेत्रको विकासका लािग त्यो सिकाइले सघाउने उनको अनुभव छ ।
नेपालको ज्वेलरी क्षेत्रका २९ व्यवसायी यसपल्ट हङकङ पुगेका थिए । जसको नेतृत्व अध्यक्ष श्रेष्ठले गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।