राजविराज- राजविराजबाट काठमाडौँ जाँदै गरेको बस शनिबार त्रिशूली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झन्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन्।
सबै स्थानीय तहमा आइतबार एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए। सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन्।
जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग शनिबार साँझ यसबारेमा छलफल भइसकेको राजविराज नगरपालिकाका प्रमुख यादवले बताए। दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि माग गरिएको छ।
ना६ख १४६७ नंको यात्रुवाहक बस शनिबार बिहान ५:५५ मा धादिङको गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडमा अनियन्त्रित भई राजमार्गबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको थियो। सो घटनामा ३१ जनाको घटनास्थलमै मृत्यु भएको थियो। १६ जना घाइते भएका छन्।
यसैबीच, दुर्घटना छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव मानबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।