साना, यमन- संयुक्त राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले यमनमा द्वन्द्वका कारण मानवीय सङ्कट भयावह बनेको बताएका छन्।
आफ्नो पाँच दिन लामो भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावबारे शनिबार बोल्दै उनले अरब मुलुक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रिया मार्फत द्वन्द्वको अन्त्य गर्नुपर्नेमा जोड दिए।
'म यमनमा रहँदा यहाँको बिग्रँदो हैजाको माहामारी लगायत मानवीय सङ्कटलाई नजिकबाट बुझ्नसके जस्तो लागेको छ,' उनले भने, 'यमनको जस्तो हैजाको माहामारी विश्वले कहिल्यै पनि देखेको वा भोगेको छैन।'
यमनमा मानव सिर्जित द्वन्द्वले नजीवनमा विकराल प्रभाव पारेको भन्दै उनले यसले आफूलाई अत्यास लागेको बताए।
यमनको द्वन्द्व समाधानका लागि सम्बन्धित सबै पक्षसँग आग्रह गर्दै उनले भने, 'कैदीबन्दी हुन् वा सञ्चारकर्मी सबैको यथासम्भव कानुनी मर्यादा अनुसार सम्मान गर्दै अन्तर्राष्ट्रिय मानवीय सहायता कानुनको प्रत्याभूत गर्न र मानव अधिकारको सम्मान गर्न आआफ्नो ठाउँबाट पहल जरुरी छ।'रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।