काठमाडौं– नेपाल पूर्वाधार विकास बैंक लिमिटेडले वित्तीय कारोबार संचालनको विधिवत् शुरुवात गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा युवराज खतिवडाले बैंकको वित्तीय कारोबार उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा गभर्नर, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारी, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायत अन्य नियमनकारी निकायहरुका उच्च पदस्थ अधिकारी, अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
४० अर्ब अधिकृत पूँजी र २० अर्ब जारी पूँजी रहेको बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक कम्पनीहरूको ४० प्रतिशत, निजी लगानीकर्ताको करिब १० प्रतिशत र बाँकी ४० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याइएको छ।
यस बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर प्रचलित ऐन, कानून तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्नेछ।
ठुला परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने जस्ता काम गर्ने उद्देश्य बैंकको रहेको छ।
सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको यस बैंकले अन्तर्राष्ट्रिय, सार्वजनीक तथा निजी क्षेत्रहरुसँग हर सम्भव सहकार्य गरी नेपालको पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।