प्रधानाध्यापकसामु नै विद्यार्थी भन्छन्– ड्रग्स खानु मेरो बाध्यता हो सर!

बाबु-आमाको बेमेलले अन्योलमा भविष्य

विनय बाह्रकोटी

Nepal Live

इटहरी– कक्षा ९ मा अध्ययनरत छात्र हुन् सुमन* लिम्बु। कक्षा ६ सम्म पढाइमा निकै तेजिला थिए उनी। नियमित विद्यालय जान्थे। 

जब बाबु विदेश उडे, उनको दैनिकी नै परिवर्तन भयो। 

पछिल्ला दुई वर्षदेखि स्कुल आउने जाने-ठेगान छैन उनको। किताब-कापीदेखि परीक्षासम्मको याद हुँदैन। उनको उपस्थितिले कक्षाकोठाको वातावरण नै परिवर्तन गरिदिन्छ। बोलेर होइन। उनले पिएको लोकल रक्सीको गन्धले। उनी आफै निर्धक्कका साथ भन्छन्, ‘सर मलाई टेन्सन छ कि! त्यसैले रक्सी खाएको हुँ।’ 

---

राजकुमार* लिम्बु कक्षा ६ का विद्यार्थी हुन्। उनका बुबा एक वर्षअगाडि नै एचआइभी संक्रमणको कारण बिते। बुबा बितेपछि उनी टुहुरा भए। बाबु विदेशिएको केही दिनमै आमा बेपता भइन्। हाल फुपूसँगै बस्छन् उनी। पढाइमा भन्दा घरकै काममा बढी ध्यान दिनुपर्ने बाध्यतामा छन्। त्यसैले उनको विद्यालयको हाजिरी खातामा गयल मात्र देखिन्छ। 

---

सुवास* लिम्बु हाल हजुरआमासँग बस्छन्। कक्षा ८ पढ्ने उनका बुबा र आमा दुवैले दास्रो विवाह गरेका छन्। भएकी हजुरआमाले पनि उनको ख्याल गर्न छाडेकी छिन्। खानलाउनै नभएपछि मन्दीपको विद्यालय आउने टुंगो हुँदैन। त्यसैले उनी घरेलु कामदारको रुपमा परिणत भइसकेका छन्। सानै उमेरमा उनले औपचारिक शिक्षामा बिराम लगाएका छन्।

---

कक्षा ९ मा पढ्ने दीपक* लिम्बुका बुबा हाल विदेशमा छन्। बाबु आउनेबित्तिकै आमा बेपता भइन्। हाल बाबु र आमा दुवैको खुटखबर छैन। कहिले साथीको घर त कहिले आफन्तकहाँ बसेर उनको दैनिकी चलिरहेको छ। पढाइको भन्दा पेटको चिन्ता छ उनलाई।

---

मनोज* सिग्दर कक्षा ९ का छात्र हुन्। दुई वर्षदेखि उनी लागुऔषध प्रयोगकर्ता भएका छन्। बाबु विदेश गएपछि आमाले वास्ता गर्न छाडिन्। साथीभाइले जोगबनी गएर लागुऔषध ल्याउँदा पैसा कमाइ हुने बताएपछि उनको बाटो मोडियो। पैसाको लोभमा पर्दै गए। पछि आफै प्रयोगकर्ता भए। प्रधानाध्यापक महतका अनुसार मनोझ आफैले लागुऔषध प्रयोग गर्ने गरेका छन्।

---

पञ्चायत माविका यी विद्यार्थी केही प्रतिनिधि पात्र हुन्। जसका बाबु-आमाको बेमेलले भविष्य नै अन्योलमा छ।

सुनसरीको रामधुनी नगरपालिका ७ मा पर्छ पञ्चायत मावि। हेर्दा आकर्षक छ विद्यालय। वरिपरि बोटबिरुवा रोपेर हरियाली बनाउने काम भइरहेको छ। छात्रा विद्यार्थीको संख्या घटेको चिन्ताले अहिले नि:शुल्क सेनेटरी प्याड वितरण कार्यक्रम ल्याइएको छ। त्यसले केही हदसम्म छात्राहरुलाई विद्यालय प्रतिको अकर्षण बढाएको छ।

विद्यालयले भर्खरैदेखि स्मार्ट लाइब्रेरीको अवधारणा अवलम्बन गरेको छ। निबन्ध, उपन्यास, कथा लगायत सामान्य ज्ञानका पुस्तक राखेर लाइब्रेरी तयार पारिएको छ। केही समयमै कम्प्युटर सहितको स्मार्ट लाईब्रेरीको व्यवस्थापन गर्न लागिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर राई बताउँछन्।

विज्ञान र अंग्रेजी विषयलाई प्रोजेक्टरको माध्यमबाट पढाउने काम सुरु भएको छ। भिडियो देखाउँदै पढाउँदा विद्यार्थीले चाँडै सिक्ने हुँदा पढाइको ढाँचा परिवर्तन गरिएको प्रधानाध्यापक महतको भनाइ छ।

त्यस्तै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भित्तामा चित्र बनाएर त्यही चित्रको अधारमा पढाउने व्यवस्था मिलाइएको छ। 'बालबालिकाको मस्तिष्कले शब्दभन्दा चित्र चाँडो क्याच गर्ने भएकोले यो विधि अपनाएका हौं,' प्रधानाध्यापक महत बताउँछन्।

त्यति हुँदाहुँदै पनि विद्यार्थीको संख्या भने घट्दो छ।

५ वर्षअगाडि ५ सय नियमित विद्यार्थी रहेकोमा हाल २५० पनि नियमित छैनन्। पछिल्लो समय निजी तथा सरकारी विद्यालयको संख्या बढेसँगै विद्यालय आसपासका विद्यार्थी मात्र आउँछन्।

भएका पनि लागुऔषध र दुर्व्यसनीको समस्यामा फसेका छन्। वैदेशिक रोजगार, त्यसले निम्त्याउने पारिवारिक तनावका कारण आफूहरु बाध्यतामा परेको स्वयं विद्यार्थीहरु सुनाउँछन्। 

ड्रग्स खानु बाध्यता रहेको विद्यार्थीहरुले नै बताउने गरेको प्रधानाध्यापक महत सुनाउँछन्। ‘भौतिक र प्रशासनिक हिसाबमा विद्यालयमा कुनै समस्या छैन,’ उनी भन्छन्, ‘तर के गर्ने यहाँको समाज नै यस्तै छ। कसलाई दोष दिनु र खै?’

जनजाति बाहुल्य क्षेत्र पर्ने भएकोले घरेलु मदिरा सेवन सहज भएको उनको भनाइ छ। घरेलु मदिरा र लागुऔषधको कारण छात्रहरुको उपस्थिति कमजोर बन्ने गरेको उनी बताउँछन्। 

अधिकांश युवाहरु विवाहपश्चात् विदेश जाने गर्छन्। महिलाहरु भने साना छोराछोरी छाडेर दोस्रो विवाह गर्ने गरेको देखिन्छ। पारिवारिक स्याहार नपाएका बालबालिकाको संख्या दैनिक बढिरहेको छ। 

प्रधानाध्यापक महतका अनुसार ८,९ र १० कक्षाका विद्यार्थी बढी कुलतमा छन्। चरम गरिबीका कारण पनि समस्या छ।

केही वर्षअगाडि बालबिबाह रोक्न चलेको ‘डान्स अफ फर्टायल’ कार्यक्रमको समयमा सबैभन्दा धेरै बालविवाह भएको उनको भनाइ छ। ०७२ सालमा सञ्चालित सो कार्यक्रमको समयमा मात्र ७ जोडी विद्यार्थीले विवाह गरेका थिए।

यसरी लागुऔषधदेखि बालविवाहसम्मको समस्या विद्यालयले खेपिरहेको छ। 

वैदेशिक रोजगारीमा गएका तिनका बुवा समयमा घर नफर्कने र आमाहरु पोइल जाने क्रम बढ्दो छ। जसका कारण बालबालिकाको बिचल्ली हुने गरेको छ। बिचल्लीमा परेका बालबालिका कोही लागुऔषध ओसारपसारमा सामेल भएका छन् त कोहीले बालश्रम गर्नुपर्ने अवस्था आइलागेको छ। 

*(यहाँ उल्लेख गरिएका विद्यार्थीको नाम परिवर्तन गरिएको छ।)

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने