कानपुर (एजेन्सी)– भारतका चाइनामेन बलर कुलदीप यादवले न्युजिल्यान्ड विरुद्ध आइतबार हुने तेस्रो तथा निर्णायक एकदिवसीयमा मौका पाए जीवनकै उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। आजको खेल कुलदीपकै गृहनगर कानपुरको ग्रीनपार्कमा हुँदैछ।
उनी कानपुरको यही मैदानमा क्रिकेट खेल्दै हुर्किएका थिए। उनले भने, ‘मलाई अन्तिम ११ मा स्थान दिइएको खण्डमा जीवनको उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु। म घरेलु दर्शकको अगाडि खेल्न पाउने कुराले रोमाञ्चित भएको छु।’
कुलदीपले विदेशमा जति नै खेल खेले पनि घरमा खेल्दा जस्तो आनन्द कतै नपाइने बताए। उनले आफूले मौका पाएको खण्डमा आफ्नो रणनीति पनि प्रमाणित गर्ने बताए। ‘म यहाँको पिचदेखि सबै कुरासँग साक्षात्कार छु। किनभने मैले यो मैदानबाट धेरै कुरा सिकेको छु,’ उनले भने।
कुलदीपका बुवा कानपुरको जाजमऊ क्षेत्रमा इटा भट्टा चलाउने गर्छन्। १९९४ मा जन्मिएका कुलदीप भारतीय टिममा समावेश भएर कानपुर आएपछि शनिवार घरमा आफ्नो आमाको हातबाट खान खान पुगेका थिए।
भारत र न्युजिल्यान्डबीच अघिल्लो २ एकदिवसीय १–१ को स्थितिमा भएको कारण आजको खेल महत्वपूर्ण मानिएको छ। तेस्रो एकदिवसीय पौने २ बजेदेखि सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।