काठमाडौं- पूर्वाधार विकास बैंकले आजदेखि कारोबार सुरु गरेको छ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंक, बीमा कम्पनी, लघुवित्त, निजी कम्पनी तथा व्यक्तिगत व्यवसायीको संयुक्त लगानीमा बैंक सञ्चालनमा ल्याइएको हो।
पूर्वाधार बैंक जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। ४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्तापुँजी रहेको यस बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, ऊर्जा, पर्यटन, सेज, आधुनिक सहरी पूर्वाधार, सूचना प्रविधि लगायत) विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ।
नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकले राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनामा लगानी गर्नेछ। यसका साथै पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्यस्रोत जुटाउने काम यसले गर्नेछ।
बैंकको कारोबारको औपचारिक उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।