काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले बैंकर र उद्योगीलाई बढ्दो ब्याजदर विवाद सहमतिमा मिलाउने सुझाव दिएका छन्। बैंकर र उद्योगीबीच ब्याजदरको विषयमा झगडा भइरहेको अवस्थामा भने सरकार टुलुटुल हेरेर नबस्ने मन्त्री खतिवडाको भनाइ छ।
‘बैंक पनि निजी क्षेत्रकै, उद्यमी पनि निजी क्षेत्रकै हुनुहुन्छ’, अर्थमन्त्री खतिवडाले भने, ‘तपाईंहरु बीचको यो सुर्कासुर्की हामीलाई पटकै मन परेको छैन। तपाईंहरुको छाता संगठनहरु छन्। बसेर छलफल गर्नुहोस्। साझा निस्कर्ष निकाल्नुहोस्।’
बैंकर र उद्यमीबीचबाटै निस्कर्ष नआए सरकारले बाध्य भएर हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने अर्थमन्त्री खतिवडाको भनाइ छ। बसेर समस्या समाधानको उपाय खोज्न सुझाउँदै उनले भने, 'सरकारले कहाँ हस्तक्षेप गर्नुपर्ने हो, आएर भन्नुहोस्।'
‘हामी जथाभावी हात फैलाउँदै अर्थात् राजनीतिक भाषमा भन्ने हो भने सुँड पसार्दै तपाईंहरुको क्षेत्रमा प्रवेश गरेर हस्तक्षेप गर्ने मनसायमा छैनौं’, मन्त्री खतिवडाले भने, ‘स्पष्ट रुपमा भनुपर्दा हाम्रो त्यो अभिप्राय पनि हैन। तपाईंहरुले झगडा गर्नुभयो भने मिलाउन हामीले हस्तक्षेप गर्नुपर्छ। त्यस्तो नगर्नुहोस्, दुवै अतिवादमा नजाऔं।’
मन्त्री खतिवडाले फेरि पनि ६ र १६ को विवादमा जान नहुन समेत उनले सुझाएका छन्।
‘यसको बीचमा हामीले सोलुसन खोज्नुपर्छ। त्यो सोलुसनमा कति आउँछ,अंकगणितको हिसाब औसतमा थाहा भइहाल्छ। त्यो औसतमा बस्नेगरी काम गर्नुपर्छ’, मन्त्री खतिवडाले पूर्वाधार विकास बैंकको कारोबार सुरुवात गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।