काठमाडौं (एजेन्सी)– पाकिस्तान र श्रीलंकाबीच अबुधाबीमा भएको दोस्रो टि–२० क्रिकेटमा पाकिस्तानका तीब्र बलर फहिम अशरफले ह्याट्रिक बनाएर इतिहास रचेका थिए। उनी टि–२० क्रिकेटमा ह्याट्रिक लिने पहिलो पाकिस्तानी बलर बन्न पुगेका थिए।
तर, यो कीर्तिमानलाई पनि ओझलमा पार्न भिक्टोरियास्थित यलोर्न नर्थका बलर निक गुडेनले ट्रिपल ह्याट्रिक गरेका छन्।
गुडेनले ५ बलमा ५ विकेट लिँदै नयाँ इतिहास रचेका छन्। क्रिकेटको भाषामा ५ बलमा ५ विकेट लिनेलाई ट्रिपल ह्याट्रिक भनिन्छ। गुडेनले यलोर्न नर्थ र लेटरोब विरुद्ध अस्ट्रेलियाको घरेलु क्रिकेटमा यो इतिहास रचेका हुन्।
उनले मध्य गिप्सल्यान्ड क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा यो इतिहास रचेका हुन्। पुरै खेलमा उनले १७ रन खर्चेर ८ विकेट लिएका थिए। उनले १० बलमा ८ विकेट लिएका हुन्।
अस्ट्रेलियाबाट प्रकासित हुने हेराल्ड सन पत्रिकाका अनुसार गुडेन चोटका कारण एक वर्षदेखि मैदान बाहिर थिए। गुडेनले इतिहास रचे पछि प्रतिक्रिया दिने क्रममा भनेका छन्, ‘मैले २ बल वाइड गरेर बलिङको सुरुवात गरेको थिए। पहिलो बल धेरै नै वाइड थियो। दोस्रो लेग साइडमा बल गएको थियो। यसपछि धेरैले मेरो मजाक उडाए। तरुन्तै मैले लेन्थ पकडिए र विकेट खस्न सुरु भयो।’
उनले घरेलु सत्रमा आफ्नो भाईले ३० रन खर्चेर ८ विकेट लिए पछि आफूलाई प्रेरणा आएको बताए। ‘म पनि भाई जस्तै कीर्तिमान बनाउन चाहन्थे,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।