काठमाडौं– दुई गोलले पछि परेको नतिजा उल्ट्याउँदै इंग्ल्यान्डले शनिवार राती सम्पन्न फाइनलमा स्पेनलाई ५–३ गोलले पराजित गर्दै पहिलो पल्ट यु–१७ विश्वकप फुटबलको उपाधि जितेको छ।
भारतको कोलकातास्थित साल्टलेक सिटी रंगशालामा भएको खेलमा स्पेनले सर्जियो गोमेजको दुई गोलको सहयोगले पहिलो हाफमै अग्रता बनाएको थियो। गोमेजले १० र ३१ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा रेहान ब्रेवेस्टरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए।
दोस्रो हाफपछि इंग्ल्यान्डले खेलमा उत्कृष्ट पुनरागमन गर्यो र ४ गोल फर्कायो। ५८ मिनेटमा मोर्गन गिब्स वाइटले बराबरी गोल गरे। तेस्रो गोल फिल फोडेनले गरे। उनले ६९ मिनेटमा गोल गरेका थिए। चौथो गोल मार्क गुहिईले ८५ मिनेटमा र पाँचौ गोल ८८ मिनेटमा फोडेनले पुनः गरे। म्यानचेस्टर सिटीका युवा मिडफिल्डर फोडेनले फाइनलमा २ गोल गरे।
प्रतियोगितामा ८ गोल गरेका लिभरपुलका युवा स्ट्राइकर ब्रेवेस्टर ‘गोल्डेन बुट’ बाट सम्मानित भएका थिए। तेस्रो स्थान ब्राजिलले हात पार्यो। फाइनल अगाडि भएको अर्को खेलमा ब्राजिलले २–० ले मालीलाई पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।