राँझा– राप्ती नदीमा आउने बाढीका कारण हुने क्षति कम गर्न राप्तीसोनारी गाउँपालिका–३ बैजापुरमा सुरक्षित सामुदायिक आश्रय भवन निर्माण भएको छ।
बाढी प्रकोपको समयमा सर्वसाधारणलाई सुरक्षित राख्नका लागि सामुदायिक बहुउद्देश्यीय आश्रयस्थल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताए।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बाढीबाट जोगिन उच्चस्थानमा निर्माण भएको सुरक्षित भवनले सबैलाई राहत हुने बताउँदै आगामी दिनमा राप्तीसोनारीमा दैवी प्रकोपजन्य घटना न्यूनीकरण गर्न गाउँपालिका लागिरहेको जानकारी दिए।
रु ८४ लाख ९५ हजार ३ सय २९ लागतमा बैजापुरको साइपुरमा आश्रय भवन निर्माण भएको हो।
भवन निर्माण समितिका संयोजक एवम् राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष गङ्गाराम थारूले तराई भूपरिधि कार्यक्रमबाट रु ६३ लाख ३५ हजार ३ सय ९५, राप्तीसोनारी गाउँपालिकाको तर्फबाट रु १४ लाख र स्थानीय जनश्रमदानबाट रु ३ लाख ८९ हजार सहयोग भएको जानकारी दिए।
स्थानीय वन तथ वातावरण समन्वय समितिका संयोजक तुलाराम खत्रीले विपत् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आफूहरुको पहल जारी रहने बताए।
राप्ती नदीमा आउने बाढीका कारण राप्तीसोनारी गाउँपालिकाका बैजापुर, विनौना, फत्तेपुर, कचनापुर क्षेत्रका गाउँ डुबान तथा कटानको जोखिममा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।