काठमाडौ- ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाललाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ रन बनाए ।
आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ तथा हम्जा तारिकले ३० रन बनाए । एक समय २१९-३ को अवस्थामा रहेको क्यानडाले त्यसपछि निरन्तर विकेट गुमायो ।
नेपालका ललित राजवंशीले १० ओभरमा ३९ रन दिएर ४ विकेट लिए । सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए ।
जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ । क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो ।
लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ ।
आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ । यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने दवाव पर्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।