जनकपुर- धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि खुत्रुके महाअभियान सुरु गरेको छ। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले शनिबार महोत्तरीको बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी खुत्रुके महाअभियान सुरु गरेको हो।
रंगशाला निर्माणमा सहयोग गर्न खुत्रुके महाअभियान सुरु गरिएको महासंघ अध्यक्ष हिरा गौतमले जानकारी दिए।
होटलमा सेवा लिन आउने जो कोहीले सहयोग गर्न सक्ने गरी प्रदेश २ का ८ वटै जिल्लाका ५ सय होटलको काउन्टरमा खुत्रुके राखिनेछन्। होटलको काउन्टरमा राखिने खुत्रुकेमा जम्मा भएको रकम फाउन्डेसनलाई हस्तान्तरण गरिने गौतमले बताए।
खुत्रुके महाअभियान घोषणा कार्यक्रममा सहभागी फाउन्डेसन अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आफूहरूले अन्तिम पटक सहयोगका लागि हात फैलाएको भन्दै देशविदेशमा बस्ने सबैलाई सहयोगको अपिल गरे। कट्टेलले भने, ‘यो तपाईंहामी सबैको अभियान हो, अन्तर्राष्ट्रिय रंगशाला बनिसकेपछि रंगशालाकै आम्दानीबाट फाउन्डेसनले देश विकास गर्दै समाजसेवा गर्नेछ, अहिले हामीलाई ३ करोड नेपालीको सहयोगको आवश्यकता छ।’
महोत्तरीको बर्दिबासमा अत्यन्त विपन्न, दलित तथा पिछडिएका मुसहरका लागि फाउन्डेसनले एकीकृत नमुना बस्ती बनाएको थियो। सोही बस्तीका अध्यक्ष बिल्टु सदा र मञ्जय सदाले समेत रंगशाला बनाउन सहयोगस्वरूप कट्टेललाई ५/५ हजार रुपैयाँ दिएका छन्।
धुर्मुस–सुन्तलीले बस्ती बनाइदिएपछि जीवनले नयाँ रूप लिएको बताउँदै आम्दानी बढेपछि सहयोग गर्ने इच्छा जागेको बिल्टु सदाले बताए।
खुत्रुके महाअभियानको घोषणासभामै प्रदेश २ का होटल व्यवसायी तथा व्यापारीहरूले रंगशाला निर्माणका लागि रु २२ लाख ४० हजार ५ सय रकम फाउन्डेसनका अध्यक्ष कट्टेललाई हस्तान्तरण गरेका छन्।
२० बिघा ६ कट्ठा जग्गामा बन्ने रंगशालाको अहिले डिजाइनको काम भइरहेको र अहिलेसम्म रंगशाला निर्माणका लागि साढे पाँच करोडभन्दा बढी रकम सहयोगबापत प्राप्त भइसकेको कट्टेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।