काठमाडौं- पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार हुने अवस्था नरहेकाले भेन्टिलेटरबाट हटाउने तयारी गरिएको छ।
सामान्यतया आशा मारिसकेको अवस्थामा मात्र भेन्टिलेटरबाट हटाउने चिकित्सकीय अभ्यास छ।
तर भेन्टिलेटरबाट हटाइ प्राकृतिक रुपमा नै उहाँको अवसान होस् भन्ने धारणा रहेको नेकपाका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले बताए।
'आशा गरौं जादुमय सुधार भएर वहाँको अवस्था सामान्य बनोस्। तर वहाँको अहिलेको अवस्था झन् भन्दा झन् खराब हुँदै गएको छ,' अध्यक्ष प्रचण्डले भने।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै वरिष्ठ नेता माधव कुमार नेपाललगायतका शीर्ष नेता अधिकारीको पछिल्लो अवस्थाबारे जानकारी लिन ह्याम्स अस्पताल पुगेका छन्।
अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको अस्पतालले शनिबार दिउँसो मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।
'हामी पनि आशावादी हुन सकेका छैनौं। जुनसुकै बेला जे पनि हुन सक्छ,' अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा गोपाल श्रेष्ठले भनेका थिए। 'उहाँलाई बचाउन सक्ने अवस्था न्यून देखिन्छ,' ह्याम्स अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम, कानून, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले अधिकारीको स्वास्थ्यस्थितिबारे चिकित्सकसँग जानकारी लिएका थिए।
मुटु र फोक्सोमा समस्या भएपछि उपचाररत अधिकारीलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार अधिकारीको रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपरेको छ भने शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन्। बितेका २४ घण्टाभन्दा बढी समयदेखि पिसाब बन्द भएको छ।
अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार ह्याम्स अस्पतालमा उहाँको उपचारमा डा भगवान् कोइराला, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायतका संलग्न छन् ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक-पटक दोहोरिएको थियो।
पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।