काठमाडौं- पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि नेकपाका शीर्ष नेताहरु अस्पताल पुगेका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाललगायतका शीर्ष नेता ह्याम्स अस्पताल पुगेका हुन्।
अधिकारीको स्वास्थ्य अवस्था आशा मार्नुपर्ने अवस्थामा पुगेको अस्पतालले शनिबार दिउँसो मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो।
स्वास्थ्य अवस्थाको जानकारी लिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले अधिकारीको अवस्था झन् पछि झन् खराब हुँदै गएको जानकारी दिए।
'हामी पनि आशावादी हुन सकेका छैनौं। जुनसुकै बेला जे पनि हुन सक्छ,' अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा गोपाल श्रेष्ठले भनेका थिए। 'उहाँलाई बचाउन सक्ने अवस्था न्यून देखिन्छ,' ह्याम्स अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक-पटक दोहोरिएको थियो।
पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।