दार्चुला– २०/२१ वर्ष हाराहारीको उमेर। सुन्दर सपना बुनेकी युवती।भर्खरै विवाह भएको थियो उनको। पहिलो पटक घरबाट माइत आएकी थिइन् उनी।
जिप चढेर ससुराबासँगै लागिन् माइत। आफूलाई जन्म दिने बाआमालाई भेट्ने वास्तविकता नजिकिँदै थियो। पहिलो पटक सजिएको सिउँदो। हँसिलो अनुहार बाआमालाई देखाउने उनको चाहना थियो।
माइत जान शुक्रबार बेलुका ससुरा प्रताप चन्द (धनबहादुर चन्द) सँगै खलंगाको बांगाबगड क्षेत्रमा स्नेहा बम जिपका लागि कुरिन्। केही समयपछि साँझ पर्नै लाग्दा दोगडा केदार गाउँपालिका–६ सित्तड घर भएकी बम ससुराबासँगै जिपमा चढ्छिन्। खलंगाबाट उत्तरतिर आफ्नो माइतीघर दुहूँ गाउँपालिका–५ बित्थोलीका लागि हिँड्छिन्।
यो बाटो उनको लागि नौलो थिएन। बालकालदेखि पैदल हिँडेको र पोहोरदेखि जिपमा हिँडेको बाटो। उनको मन निक्कै कौतुहलताले भरिएको थियो।
तर, सात किलोमिटर नहिँड्दै गाडीले असमान्य गति लियो र अचानक दुर्घटना भयो। दुर्घटनाले ससुरा बा र स्नेहा दुवैलाई चुंड्यो। ‘पहिलो पटक माइती भेट्न गएकी स्नेहा अब हाम्रो सामु कहिल्यै देखिन्नन्,' डिलभरि आँसु पोखाएर काका लोकेन्द्रबहादुर बमले भने। साथमा बिहेको फोटा देखाउँदै भक्कानिए।
००
निरुको उमेर पुग्यो। पढाइ पनि १२ पूरा हुँदै थियो। नागरिकताका प्रमाणपत्र बनाउनु पर्छ भन्ने कुरा घरमा चल्यो र निरु भनिने निर्मला बडाल बुबा कल्याणसिंह बडालसँगै गाउँपालिकाबाट नागरिकता प्रमाणपत्रको सिफारिस बनाएर सदरमुकाम खलंगा आउँछिन्।
नागरिकता बनाउने काम सकेर शनिबार चाडबाडको सामान लिएर घर फर्किने योजनामा रहेका बडाल बुबा छोरी शुक्रबार बेलुका नै जिप पाइने भएपछि दुहु गाउँपालिका- २ हिकिला जान जिपमा बसे।
तर घरपरिवारका सदस्यलाई नागरिकताको प्रमाण पत्र देखाउन नपाउँदै फागुन १७ गते भएको जिप दुर्घटनामा बुबा कल्यानसँगै निरुको पनि देहावसान भयो।
बुबाछोरीले सम्पूर्ण घरपरिवारलाई टुहुरो बनाए। रेडक्रस सोसाइटी हिकिला उपशाखाका सभापति रहेको बडाललाई उद्धार गर्न प्रहरी आउनु पर्यो। गौरिमाण्डौं मावि हिकिलाले आफ्नो अध्यक्ष गुमायो।
‘समाजले असल समाजसेवी गुमायो,’ दुहुँ-२ का करणसिंह बडालले बताए।
५५ वर्षीय हजुरआमा अम्मरा बमसँगै किनमेलका लागि सदरमुकाम बजार आएकी ७ वर्षीय आयुसा भनिने अनिता बम कक्षा ३ मा पढ्दै थिइन्। हजुर आमासँगै म १ ज २८० नम्बरको जिपमा चढेकि आयुसा जिप चढ्न निक्कै जिद्दि गर्थिन र हजुरआमालाई पनि साह्रै माया गर्थिन्।
आफ्नी प्रिय हुजरआमासँगै चढ्न मन पर्ने जीप दुर्घटनामा उनको बालापन विलीन भयो। उनको शोकमा दुहु गाउँपालिका–३ मा रहेको गणेश निमावि सिमलीमा आइतबार शोक बिदा दिइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबबहादुर बमले जानकारी दिएका छन्।
शुक्रबार राती भएको जिप दुर्घटनामा ससुरा बुहारी प्रताप चन्द र स्नेहा बम, बुबाछोरी कल्यानसिंह बडाल र निर्मला बडाल, हजुरआमा नातिनी अम्मरा बंम र आयुसासँगै दुहूँ १ का ३५ विर्षय परुली धामी, दुहुँ १ का धनबहादुर बम, सोही वडाका ५३ वर्षिय मानमती भट्ट, ४५ वर्षिय गोमती बम, ७१ वर्षीया धाना बमले समेत ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।