धनगढी- शिवरात्री र होलीमा हुलदंगा हुन नदिन प्रहरीले समुदायसँग साझेदारी गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार शिवरात्री र होलीको सुरक्षा व्यवस्थापन सम्बन्धी समुदायसँग छलफल गरी हुलदंगा नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेको हो। हुलदंगा गरी होहल्ला मच्चाउन जो कोहीलाई पनि पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा लगाउने भएकाले सहयोग जुटाउन प्रहरीले छलफल गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले शिवरात्रीमा भाङ र होलीमा मदिरा सेवन गरी हुलदंगा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने बताए। ‘तपाईहरुले पनि सहयोग गर्नुपर्छ। प्रहरीले शिवरात्री र होलीमा उश्रृंखल गतिविधि गर्नेलाई सार्वजनिक हित विरुद्ध मुद्दा चलाएर कारबाही गर्छौ,’ उपरीक्षक तिमल्सिनाले भने।
प्रहरीले यसपालीको शिवरात्रीमा भाग लगायतका लागुपदार्थ प्रयोग गरिएको कुनै पनि खाद्य पदार्थ विक्री वितरण र प्रयोग गर्न नदिने भएको छ।
शिवरात्रीमा गाँजा, भाङ सेवन गरी विगतमा ठूला ठूला घटना भएकाले प्रहरीले यसपाली शिवरात्रीमा कडा सुरक्षा व्यवस्था गरेको हो। प्रहरी उपरीक्षक तिमिल्सिनाले महिलाहरुमाथि अभद्र व्यवहार गर्ने र उनीहरूको सामान तथा गहना लुट्ने गरेको पाइएकोले यसपालीको शिवरात्रीमा डबल लोड बोकेका मोटरसाइकललाई पनि कडा चेकजाँच गर्ने जनाए।
उनले होलीमा समेत महिला वा पुरुषलाई ईच्छा विपरीत होली खेलाउनेलाई समेत पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा चलाउने बताए।
शिवरात्री र होलीमा प्रहरीले अनलाईन बस्ने र उजुरीका लागि जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा उजुरी गर्न सकिने व्यवस्था मिलाएको उनले बताए। उनले जानकारी आउने बित्तिकै प्रहरी घटना स्थल पुगी पक्राउ गरी तत्काल मुद्दा दर्ता गरिने बताए। उनले शिवरात्री र होलीमा हरेक टोल नाकामा सवारी साधन कडा रुपमा चेक जाँच गर्ने बताए।
छलफलमा सहभागी जनप्रतिनिधि, स्थानीय समुदाय र युवाहरुले पनि प्रहरीलाई चाडपर्वको बेला कडा सुरक्षा व्यवस्था गर्न आग्रह गरेका थिए। उनीहरुले प्रहरीलाई शिवरात्री र होलीमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न साथ दिने प्रतिवद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।