गाईघाट- स्थानीय क्षेत्रमा आन्तरिक पर्यटनको प्रवद्र्धन र विकास गर्न उदयपुरको पहाडी क्षेत्रका चार गाउँपालिकासहित केही नगरपालिकाले आधा दर्जनभन्दा बढी दृश्यावलोकन स्तम्भ(भ्यूटावर) निर्माण कार्य शुरु गरेका छन्।
जिल्लाको पहाडी क्षेत्रका उच्च पहाडी स्थानबाट उत्तरतिरको मनोरम हिमाली शृङ्खला र दक्षिणतिरको समथर तराईका मैदान देख्न सकिने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएपछि अहिले अधिकांश स्थानीय तहहरु भ्यूटावर निर्माण कार्यमा लागेका छन्।
उदयपुर गढी गाँउपालिकाको उदयपुर गढीमा दुई वर्ष अघिदेखिनै भ्यूटावर निर्माण कार्य शुरु भएर अहिले सम्पन्न हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष मानबहादुर केपीछाके मगरले बताए। पर्यटन मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समेत आर्थिक लगानीमा झण्डै ४४ फिट अग्लो भ्यूटावर निर्माण सम्पन्न हुने अवस्थामा पुगेको उहाँले जानकारी दिए ।
ताप्ली गाउँपालिकाको ताप्ली डाँडामा समेत अहिले आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण कार्य धमाधम शुरु भएको गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताए। उनका अनुसार गाउँपालिकाको दश लाखको लगानीमा ५० फिट अग्लो भ्यूटावर निर्माण कार्य शुरु भइसकेको छ।
लिङचुुङबुङ गाउँपालिकाको बराह डाँडामा समेत अहिले जिल्लाकै सबैभन्दा अग्लो ७२ फिट उचाइ भएको भ्यूटावर निर्माण कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए। रु आठ करोड लगानीमा सम्पन्न हुने उक्त भ्यूटावरमा अहिले गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेर भ्यूटावर निर्माणको पहिलो चरणको कार्य प्रारम्भ गरेको अध्यक्ष राईले बताए।
रौतामाई गाउँपालिकाको रौतापोखरी डाँडामा समेत आन्तरिक पर्यटन विकासका लागि भ्यूटावर निर्माण शुरु गरिएको छ।
गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काका अनुसार रौता क्षेत्रलाई बृहत् पर्यटन विकास गर्ने गुरुयोजनासहित अहिले पहिलो चरणमा रु २० लाख बजेट विनियोजन गरेर भ्यूटावरको कार्य शुरु गरिएको छ।
यस्तै कटारी नगरपालिकाको पहाडी क्षेत्रमा समेत आन्तरिक पर्यटनको विकास गर्न अहिले बेतिनि डाँडामा भ्यूटावर निर्माण कार्य अगाडि बढाइएको छ। सोका लागि नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेर पहिलो चरणको कार्य अगाडि बढाएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले बताए।
चौदण्डी नगरपालिकाको चौदण्डी गढीलाई पर्यटन विकास गर्न दुई वर्षअघिनै ४४ फिट अग्लो भ्यूटावर निर्माण भइसकेको नगर प्रमुख खगेन्द्रकुमार राईले उल्लेख गरे।
जिल्लामा निर्माण भइरहेका भ्यूटावरबाट उत्तरीक्षेत्रका पाँचदेखि आठ वटासम्म हिमशृङ्खला देख्न सकिने बताइएको छ।
यस्तै उत्तरी क्षेत्रका हिमाल मात्र नभएर १ नम्बर प्रदेशको दक्षिणी क्षेत्रको तराईफाँट सप्तरी, सिरहा, सप्तकोशी, इटहरी, दुहबी र विराटनगरसम्म अवलोकन गर्न सकिने ताप्ली गाउँपालिकाका अध्यक्ष थापाले बताए।
जिल्लाको पहाडी क्षेत्रको ताप्ली, उदयपुर गढी लिचुङबुङ र रौताबाट उत्तरी क्षेत्रको सगरमाथा हिमालसहित खुम्बुु क्षेत्र, आमादोल्मा, लोत्से र पूर्वी उत्तरी क्षेत्रको अरुण, बरुण हिमाली शृङ्खलासमेत सजिलै अवलोकन गर्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष खड्काले जानकारी दिए।
जिल्लाको पहाडी क्षेत्रबाट तराईको फाँट र हिमाली क्षेत्र दुवै अवलोेकन गर्न सकिने र आन्तरिक पर्यटन विकास गर्न सकिने अवस्था रहेका कारण अहिले उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले आन्तरिक पर्यटन प्रवर्द्धनको लागि पहिलो प्राथमिकता भ्यूटावर निर्माणमा दिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।