काठमाडौं- सुन्धारास्थित काठमाडौं मलमा व्यवसाय गरिरहेका व्यापारीले आफूहरूलाई कर्मचारी सञ्चय कोषले बिचौलिया लगाएर धपाउन खोजेको आरोप लगाएका छन्।
राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं मल व्यापार संघले आफूहरूलाई दुख दिने र व्यवसाय नै धरापमा पार्ने नियत राखेर सञ्चय कोष लागिपरेको बताएको छ।
काठमाडौं मल व्यापारिक केन्द्रका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो। सञ्चय कोषको लगानीमा निर्मित भवनलाई सञ्चालन गर्न कोषले स्पष्ट नीति नलिँदा व्यापारी सधैं अन्योलको अवस्थाबाट गुज्रिने गरेको उनीहरुको भनाइ छ।
ठेकेदारहरु लामो समय नटिक्ने कारणले ठेकदारसँग लामो समयको सम्झौता गरेर बसेका व्यवसायको बिचिल्लिको अवस्था सृजना भएको समेत संघको भनाइ छ। कोषले २१ दिनभित्र व्यवसाय गरिरहेको ठाउँ खाली गर्न भनेको छ।
‘२१ दिन भित्र व्यवसाय गरिरहेका ठाउँ खाली गर्न निकालिएको सूचना न्याय संगत देखिदैन र ब्यपारीहरुको अर्वौ रुपैया जोखिममा परेको छ,’ संघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
कर्मचारी सञ्चय कोषले भने मल बाहिरका व्यापारीहरुलाई मात्र हटाउन खोजेको जनाएको छ। नेपाल लाईभसँग कुरा गर्दै संचय कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले मलको बाहिरपट्टी व्यवसाय गरिरहेका व्यापारीका कारण मल अस्तव्यस्त भएकाले हटाउनु परेको बताए। ‘भित्रका व्यापारीलाई नभई मल बाहिर व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई हटाउन खोजेका हौं,’ श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।