जनकपुर- चारैतिर महिला हिंसाको सबालमा कुरा उठिरहेको बेला प्रदेश २ की एक सांसदले भने आफ्नै बुहारीमाथि हिंसा गर्दै आएको घटना सार्वजनिक भएको छ।
प्रदेश २ मा नेकपाकी प्रदेशसभा सांसद जगतारैन देवी साहकी बुहारी पिंकीकुमारी साहले आफूमाथि सासूसहित परिवारले नै हिंसा गरेको आरोप लगाएकी हुन्।
पिंकीले श्रीमान देवशरण, सासू जगतारैन र ससुरा स्वामीशरणले आफूमाथि हिंसा गरेको आरोप पिंकीले लगाएकी छन्।
श्रीमान् देवशरण भारतको चण्डीगढमा बस्दै आएका र एक छोरीसहित आफू सिराहास्थित घरमा बस्दा सासूससुराले खान लाउन पनि नदिएको आरोप उनले लगाएकी छिन्।
उनले श्रीमानले बेवास्ता गर्ने र सासू ससुराले खान लाउन पनि नदिएको भन्दै जिल्ला अदालत सिराहामा मुद्दा समेत दायर गरेकी थिइन्।
मानाचामल माग गर्दै दायर गरेको मुद्दा गत माघ १० गते जिल्ला अदालत सिराहाले फैसला गरेको छ।
‘मासिक १० हजार रुपैयाँ पाउने गरी फैसला भएको छ’ पिंकीले भनिन्, ‘फैसला भएको एक महिनाभन्दा बढी भइसक्दा पनि मैले खर्च पाएको छैन।’
पिंकीले २०७४ साल भदौ ८ गते जिल्ला अदालत सिराहामा मुद्दा दायर गरेकी थिइन्। २६ वर्षीया पिंकीले २०६० सालमा विवाह गरेको अदालतमा दायर गरेको मुद्दाको मिसिलमा उल्लेख छ।
पिंकीको माइती जनकपुर हो। उनका अभिभावकले १ लाख ५१ हजार रुपैयाँ दाइजो दिएर विवाह गरेको पिंकीले बताइन्। ‘विवाह पछि केही समय श्रीमान र परिवारले पनि राम्रो व्यवहार गरेका थिए’ पिंकीले भनिन्, ‘तर वर्ष दिन पछि दाइजो पुगेन भनेर सासूससुराले हेला गर्न थाले।’
उनले श्रीमान बसेको ठाउँमा जाँदा पनि आफूलाई कुटेर पठाएको गुनासो गरिन्। उनले भनिन्, ‘छोरी गर्भमा रहँदा पनि मलाई पिट्ने गरेपछि बस्न नसकेर घर फर्केर आएँ।’
अहिले पिंकीको ३ वर्षकी छोरी पनि छिन्। छोरीको समेत हेरचाह र पढाइ खर्च श्रीमानले नदिएको उनको गुनासो छ।
पिंकीका ससुरा स्वामीनारायण साहले भने बुहारीमाथि हिंसा नगरेको दाबी गरे। ‘आफैं श्रीमान र हामीसँग मिलेर बस्न सकिन’ स्वामीनारायणले भने, ‘मेरो श्रीमतीलाई र परिवारलाई नराम्रो देखाउन उसले यस्तो गरेकी हो।’
उनले अदालतले गरेको फैसला अनुसार छोराले उसलाई खर्च दिने बताए। ‘अदालतले जे भन्छ त्यो स्वीकार गर्छु’ स्वमीनारायणले भने।
प्रदेश २ की सांसद जगतारैन देवी साह भने बिरामी परेको भन्दै बोल्न अस्वीकार गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।