जनकपुर– जनकपुर अञ्चल अस्पतालमा पहिलो पटक मेरुदण्डको सफल शल्यक्रिया गरिएको छ।
अञ्चल अस्पतालमै मेरुदण्डको शल्यक्रिया हुने मेडिकल सुपरिन्टेन्डेन्ट डा नागेन्द्र यादवले बताए।
हाडजाेर्नी डाक्टर रञ्जित झाको नेतृत्वको टोलीले महोत्तरी नगरपालिका ५ की ३० वर्षीया शैलोदेवी राउतको मेरुदण्डको सफल शल्यक्रिया गरेको अस्पताल प्रशासनले जनाएको छ।
घरको दोश्रो तल्लाबाट लडेर मेरुदण्ड भाँचिएर हिँड्न नसक्ने अवस्थामा पुगेकी शैलोदेवी गएकाे माघ २७ गते उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना भएपछि उनको पहिलो पटक शल्यक्रिया गरेको डा झाले बताए।
शल्यक्रियापछि अहिले शैलोदेवीको स्वास्थ्य अवस्था समान्य रहेको छ। उनले सामान्य हिँडडुलसमेत गर्न थालेको डा झाले बताए।
शल्यक्रियाको चिकित्सक टोलीमा अर्थोपेडिक डा रामविनय चौधरी, डा मनोज गुप्ता र एनेस्थेसिया डा रुपेश गामी, डा सन्दीप शर्मा डा संजय यादव लगायत सहभागी रहेका थिए।
चित्सिकका अनुसार निजी हस्पिटलमा मेरुदण्डको शल्यक्रिया गराउँदा कम्तिमा ३ लाख रुपैयाँ खर्च हुन्छ। तर, अब जनकपुर अञ्चल अस्पताल मै यो सेवा निःशुल्क पाइने मेडिकल सुपरिन्टेन्डेन्टड नागेन्द्र यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।