काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महासमितिको मर्म विपरीत पुरानै व्यवस्थालाई निरन्तरता दिँदै पार्टीको विधान पारित गरेको छ।
संस्थापन इतरका अधिकांश नेताको आपत्ति रहँदारहँदै पनि केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने पुरानो विधानलाई कायम राखिएको छ।
केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार बहुमतबाट निर्णय पारित गरिएको हो। आरक्षणका सन्दर्भमा पनि पुरानै व्यवस्था कायम गरिएको छ।
महासमितिको बैठकमा केन्द्रीय नेताहरू वडा तहबाट नै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्ने प्रस्ताव गरिएको थियो। जिल्ला सभपतिहरूको उक्त प्रस्तावलाई महाधिवेशन प्रतिनिधिको हलले नै अनुमोदन गरेको थियो।
तत्कालीन समयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिबाट पारित गर्ने वचनबद्धता व्यक्त गरेका थिए।
माघ १० गतेदेखि जारी केन्द्रीय समिति बैठकले महासमिति बैठकको म्यान्डेट विपरीत विधान पारित गरेको हो।
संस्थापन इतरका नेताहरूको महासमिति बैठकको मागलाई सम्बोधन गर्ने मागका बारेमा सभापति देउवाको कार्यकक्षमा झन्डै ६ घन्टा बैठक बसेको थियो।
तर,आन्तरिक तयारीको लागि बसेको बैठकले सहमति जुटाउन नसकेपछि संस्थापन पक्षले एकपक्षीय रूपमा बहुमतबाट विधान पारित गरेको नेताहरूले बताएका छन्।
वरिष्ठ नेता पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह,अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेललगायत नेताहरूले लिखित असहमति पेस गरेका छन्।
बैठकको निर्णयप्रति असन्तुष्ट नेता पौडेलले नेपाल लाइभसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'यस्तो महत्वपूर्ण विषय केन्द्रीय समितिको बहुमतबाट निर्णय गर्ने प्रक्रिया नै गलत भएको छ। यो निर्णयले महासमितिको घोर अपमान भएको छ।'
विधानमा पुरानो व्यवस्था कायम हुँदा १४औं महाधिवेशनमा आफू पक्षका नेताकार्यकर्ताको बाहुल्यता हुने पूर्वानुमानात्मक रणनीति मुताविक विधान पारित गरिएको एक नेताले बताए।
सरकार विरुद्ध प्रदर्शनलगायत अन्य विषयतिर लागेर विधानबारे छलफल हुन सकेको थिएन।
फागुन ९ मा मात्रै विधानको विषयमा छलफल सुरु भएको थियो। तर,त्यस दिन आन्तरिक तयारी गर्न शीर्ष नेताको बैठक बसेपनि कुनै सहमति हुन् नसक्दा बैठक नै नबसी आजलाई सारिएको थियो।
कांग्रेसका विभिन्न समूहमा सहमति पहिल्याउन नसकेपछि देउवाले निरणार्थ बैठकमा पेस गरेका थिए। उनले बहुमतले पारित गरेएका छन्।
केन्द्रीय समितिमा देउवा पक्षको बहुमत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।