इटहरी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताको विरुद्धमा चित्रबहादुर केसीभन्दा बढी प्रधानमन्त्री ओली आक्रामक देखिएको बताएका छन्। प्रहरी ऐन र सिडिओलाई दिएको अधिकारबाट नै प्रम ओली संघीयताको विरुद्धमा देखिएको थापाले बताए।
नेपाली कांग्रेस इटहरी नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीसँग आग्रह गरे, 'प्रधानमन्त्री ज्यू, काठमाडौंमा रेल हैन विद्यालयमा शिक्षक पठाउनुस्।'
अहिले कांग्रेस सरकारमा नहुँदा कार्यकर्तामा एकातिर चरम निराशा र अर्काेतिर तीव्र महत्वाकांक्षा रहेको नेता थापाले बताए। अबका कार्यकर्ताहरू आलोचनात्मक चेतका साथ पार्टीको अवस्था पत्ता लगाउने काममा लाग्नुपर्ने उनको भनाइ छ।
युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने, संविधान जारी गर्नेदेखि तिनै तहको निर्वाचन गराउने सम्मको ऐतिहासिक काम कांग्रेसको नेतृत्वमा भएकोले कसैले पनि लघुताभास गर्न नहुने उनले बताए।
'बारम्बार कांग्रेसले आफू हार्ने काम गर्यो होला तर देशलाई जिताउने नेतृत्व गरेको' भन्दै त्यसैको बलमा थप संगठन बनाउन लाग्न कार्यकर्तालाई आग्रह गरे।
'अहिले कांग्रेसभित्र केही रणनीतिक र शासकीय कमजोरी भएका छन्', उनले भने, 'अब त्यो हुनुहुन्न। कांग्रेस आफू सम्हाल्लिएन भने र आफूले सम्हाल्न सकेन भने देश नै खतरामा पर्न सक्छ।'
पछिल्लो बम विस्पोटनका घटनाप्रति इंगित हर्दै उनले देशमा संकट आइपर्ने संकेत देखिएको बताए।
'अहिले विश्वव्यापी रुपमा प्रजातान्त्रका विरुद्धमा मत बलियो भइरहेको बेला नेपालको लोकतान्त्रिक मूल्य मान्यतामाथि संकट पर्नसक्ने र त्यसको नेतृत्व अहिलेको कम्युनिस्ट नेतृत्वको सरकारले गरिरहेको छ,' नेता थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।