वीरेन्द्रनगर- फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन्। सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच जनाले नियुक्तिपत्र बुझेका छन्। दैलेखस्थित गैरसरकारी संस्था 'सोसेक नेपाल'ले शनिबार एक कार्यक्रमका बीच राउटे समुदायका ५ जनालाई नियुक्तिपत्र प्रदान गरेको हो।
सामाजिक कार्यकर्ताको रुपमा नियुक्तिपत्र बुझ्नेमा प्रकाश, वीरबहादुर, सूर्यनारायण, दिलबहादुर र महिनबहादुर शाही छन्।
राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको साेसेक नेपालले जनाएकाे छ। नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक एक हजार ५ सय रुपैयाँ पाउने भएका छन्। नियुक्तिपत्र प्रदान गर्दै सोसेकका पूर्वअध्यक्ष सीता रानाले राउटे समुदायमा रहेका बालबालिकाको संरक्षणका साथै समुदायका महिला र बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको बताए।
नियुक्तिपत्र पाएका राउटेले अब समुदायभित्र बालक्लब तथा महिला समूह गठन गर्नुपर्ने हुन्छ। त्यसैगरी समुदायका लागि चाहिने काठको व्यवस्थापन गर्नका लागि सामुदायिक वनसँग समन्वय गर्नुपर्नेछ।
त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वाेत्तम पिठो पनि प्रदान गरिएको छ। बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वाेत्तम पिठो प्रदान गरिएको हो। सोसकले सञ्चालन गरेको 'राउटे परियोजना'अन्तर्गत अहिले राउटे समुदायको स्वास्थ्य जाँच गर्ने अहेवको व्यवस्था गरिएको छ।
परियोजनाअनुसार उनीहरुको समस्याका बारेमा ध्यान दिइनुका साथै बालबालिकालाई पढाउने शिक्षकको पनि व्यवस्था गरिएको छ। सो समुदायकी शिक्षक दुर्गा खत्रीले यस समुदायमा उचित स्याहारको कमीका कारण नवजात शिशुको मृत्यु हुने गरेको बताइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।