जनकपुर- महोत्तरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार लोहारपट्टी नगरपालिका २ सुखौनियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादव रहेका छन्।
स्थानीय सकल मुखियाको घरमा शुक्रबार राति सन्तान जन्मेको खुसीमा आयोजना गरिएको भोज तथा नाचगानमा सहभागी हुन गएका उनीहरुलाइ करेन्ट लागेको थियो।
प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लागेर सिकिस्त भएका दुवै जनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।