साँखु- महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ।
बुढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोन लगायतका सामग्री बरामद गरेको थियो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
उनका अनुसार कपन तेञ्जिङ चोकमा रहेको कोनिका इलेक्ट्रोनिक पसल सञ्चालन गरी बस्ने गोपाल राईको पसलको सटर फोरेर मोबाइल लगायतको सामान चोरेका थिए। पक्राउ गरिएका उनीहरुलाई प्रहरीले चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ।
पक्राउ परेका सबै बालबालिका भएकाले उनीहरुलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।